‘संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी’ : प्रधानमन्त्री ओली

‘संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताएका हुन् ।

असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उनले बताए। संसद पुनर्स्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप समेत प्रधानमन्त्री ओलीको छ ।

संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ । आफूले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताए । शारिरिकरुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता गरे । उनले अहिले बालबालिकाहरु सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताए। सडकमा आउने बालबालिकाहरुलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभुति सरकारले गराउने पनि उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शारीरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गरे। देश विकासमा शारीरिक रुपमा अपाङ्गता भएकाहरुले पनि योगदान दिन सक्ने उनको भनाइ छ । देश गरीब भएपनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमि नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

Logo