राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन्।
अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको वाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी गरेका हुन् ।
कांग्रेस, एमाले र माओवादीले पटक-पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ।
देशका प्रमुख राजनीतिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरि गरेको काम देखाउन चुनौतीसमेत दिएका छन्। अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए।
स्थानीय तहको निर्वाचन नजिकिएकाले उनले राप्रपाका उम्मेदवारलाई जिताउन अपिलसमेत गरेका छन् । राप्रपामा प्रवेश गर्नेलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागि अहित हुने कुनै पनि काम नगर्ने बताउँदै राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिबद्धता व्यक्त गरे।
एमसीसीतर्फ इंगित गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलका नेतृत्वको केटाकेटीपनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्र रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको बताए।
कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवं नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राणा, वरिष्ठ नेता दीपक बोहरा, पूर्वआइजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयसहितका नेताले सम्बोधन गरेका राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले जानकारी दिए।





























प्रतिक्रिया