राप्रपाबाट निकाल्ने षडयन्त्र भएपछि बाहिरिएको हुँ, पार्टी फुटाएको होइन : कमल थापा

राप्रपाबाट निकाल्ने षडयन्त्र भएपछि बाहिरिएको हुँ, पार्टी फुटाएको होइन : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन्।

बिहीबार गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफूलाई धेरै नै माया गरेको बताए।

‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनीहरु। तपाईंहरुले मलाई धेरै माया गर्नु भएको छ। मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घडीमा तपाईंहरुले मलाई अपार स्नेह माया र सदभाव दिनुभएको छ' अध्यक्ष थापाले भने, 'चुनावमा हारजित आफ्नो ठाउँमा छ। तर मकवानपुरका दाजुभाई तथा दिदीबहिनीहरुको माया मैले जीवनभर बिर्सिन सक्दिनँ।’

उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए । थापाले आफू ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए।

'कमल थापालाई राजीतिकरुपमा प्रहार गरेर घाइते बनाइएको छ। यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन, हामीले अलिकति भएपनि मलम लगाईदिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईंहरु आउनुभएको छ। तपाईंहरु सबैलाई फेरि पनि धन्यवाद दिन चाहान्छु ’ उनले भने ।

उनले मकवानपुरको दाजुभाइ दिदीबहिनीहरुको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए । अध्यक्ष थापाले आफूले गिताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए। उनले आफूले गिताको कसम खाएर कसम नतोडेको दाबी गरे।

उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफू मात्र अलगिएको बताए। 'केही साथीहरुलाई कमल थापाले पार्टी फुटाउनु भो, नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ । कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिनँ भनेर गिता छोएर कसम खानु भाथ्याे । अहिले पार्टी फुटाईदिनु भो । गिताको कसम तोड्नु भयो । भन्ने पनि मनमा लागिरहेको मैले पाएँ' उनले भने, ' मैले पार्टी फुटाएको छैन । करिब एक डेढ महिना अगाडि यही सभा कक्षमा आएर मैले आफ्नो पीडा,दुःख तपाईंहरु समक्ष व्यक्त गरेँ। र तपाईंहरु सामुन्यमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरेँ। मैले कोही साथी लिएर पार्टीबाट अलग भएको हैन। मैले चाहेको भए विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्रीय सस्दस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसँग सम्बन्धित केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चाहेको भए कानून बमोजिम नै दुई वटा पार्टीलाई अलग गर्न सक्थ्यौं । केही साथीहरुले मलाई सल्लाह पनि दिएका थिए । मैले पार्टी फुटाउन सक्दिनँ, मिल्दैन भनें। मैले गिताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिनँ।'

उनले गितामा भगवान कृष्णले अर्जुनलाई अन्यायसँग सम्झौता नगर, गलन प्रवृतिसँग सम्झौता नगर, युद्ध गर, धनुष वाण उठाउ, म तिम्रो साथमा छु भनेको पटकपटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक-पटक निवेदन गर्दा पनि सुनवाई नभएपछि आफू राप्रपाबाट अलग हुनुपरेको दुखेसो पोखे ।

उनले महाधिवेशनमा निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेपले लोकतन्त्रमाथि नै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्दा नबाेक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दू राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने बताए।

Logo