‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँछ’

‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँछ’

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्याएर मुलुकको हित गर्ने बताएका हुन् । प्रधानमन्त्री देउवा शुक्रबार नै भारत प्रस्थान गरिसकेका छन् ।

बिहीवारको मन्त्रिपरिषद्को बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–तिदिम खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने, गराउने निर्णय गरेको मन्त्री कार्कीले बताए । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागिताको लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले आयोजनाको बहुवर्षिय ठेक्का सम्बन्धी दोस्रो संशोधन मापदण्ड २०७८ स्वीकृत गर्ने, नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने र उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ सुपारी, केराउ र मरीचलाई  व्यवस्थित गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७८ स्वीकृत गर्ने पनि निर्णय गरेको छ। 

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरिक्षकको पदमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रकुमार धानुकलाई बढुवा गरि रिक्त पदमा पदस्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले बताए । त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्का र गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको उनले बताए।

Logo