अधिकार प्राप्त नभएसम्म लडाइँ जारी छ : अध्यक्ष यादव

अधिकार प्राप्त नभएसम्म लडाइँ जारी छ : अध्यक्ष यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइँ लडिरहने बताएका छन्। 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आइतबार शिलान्यास गर्ने क्रममा  उनले जनता समाजवादी पार्टीले मधेशी, मुस्लिम तथा शोषित उत्पीडितको लागि लड्दै आइरहेको बताए। राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी रहेको बताउँदै विभेदमा परेको सम्पूर्ण नेपालीहरूका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइँबाट पछि नहट्ने उनकाे प्रतिबद्धता थियो।

सो अवसरमा भौतिक, योजना तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीवासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गरिन्। सप्तरीका जनता सदैव सडक, शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित रहेको विषयलाई जसपाले आत्मसात गरेको बताउँदै जसको फलस्वरूप अहिले सप्तरीमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको बताइन्।
 
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले जसपाले होहल्ला नगरी जनचाहनाअनुसार विकास गरेको र आगामी दिनमा विकासको कार्यलाई प्राथमिकतामा राखेर जनहितमा कार्य गर्ने बताए।

प्रदेश सांसद मनिष सुमनले वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारलाई मत दिई विकास निर्माणको कार्यमा थप तीव्रता दिन आग्रह गरे। 

तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रमअन्तर्गत जसपा अध्यक्ष यादवले सप्तरीमा एकै दिन चार वटा सडक निर्माण योजनाको शिलान्यास गरे।

Logo