निर्वाचन आयोगले शुक्रबारबाट लागूहुने गरी 'स्थानीय तह निर्वाचन आचारसंहिता' लागू गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शको आधारमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजैका मितिदेखि लागू गर्ने निर्णय गरिएको जानकारी दिए ।
शुक्रबार अपरान्ह आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालका प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने तथा समाजिक सञ्जालमा गलत, भ्रामक सूचना प्रवाह गर्न-गराउन वा झुटा साईट, एकाउन्ट संचालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या गर्ने गरी कुनै पनि प्रकारको प्रचार सामग्री प्रकाशन तथा प्रशारण गर्न निषेध गरिएको स्पष्ट पारे ।
उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजदेखि लागू हुनेगरी आयोगबाट निर्णय भएको छ । आचारसंहितामा गलत, भ्रामक सूचना सामाजिक सञ्जालबाट प्रयोग नगर्न पनि सचेत गराइएको छ । निर्वाचन आचारसंहितको प्रतिकूल प्रभावपार्ने खालका कुनै पनि सामग्री उत्पादन र प्रकाशन तथा प्रशारण गर्न पनि निषेध गरिएको छ ।’
आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्याशाला वा गोष्ठी नगर्न पनि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरुलाई सचेत गराएको छ । त्यस अवधिमा मादक पदार्थको विक्री वितरणमा समेत पूर्ण रुपमा निषेध गरिएको पनि आयोगका प्रवक्ता पौडेलले बताए ।
उनले भने, ‘मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायतका कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया र माध्यामबाट मत माग्न वा निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै पनि माध्यामबाट पोष्ट वा सेयर गर्न नहुने साथै स्थानीय तह निर्वाचन निर्देशिकाले व्यवस्था गरे बमोजिम यस अवधिमा मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ । ’
आचारसंहिता उलंघन गर्ने जोकोहीलाई कारबाही हुन्छ : आयोग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने चेतावनी दिए । निर्वाचनको आचारसंहिता उलंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उनले स्पष्ट पारे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन । यदि कसैले आयोग समक्ष र विभिन्न गोष्ठी र कार्यक्रममा अनि तपाईँहरुसँग चाँही कार्यान्वयन गर्छ भन्यो । तर भित्रभित्रै उलंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ । निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।
उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयन प्रारम्भ भयो । तर हाम्रा कार्यालय र संरचना बनिसकेका छैनन् । आज नै आयोगले यो कार्यान्वयनको घोषणासँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्म सम्पूर्ण आचारसंहितासँग सम्बन्धित स्थानीय तहमा रहने समितिको काम, कर्तव्य र अधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गरी र सदस्य सचिवको भूमिकामा जिल्ला निर्वाचन अधिकृतले भूमिका निर्वाह गर्नेगरी अधिकार प्रत्यायोजन गरिएको छ । भोली देखिनै त्यो तदारुपताका साथ कार्यान्वयन हुन्छ ।’
निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ । त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाईने तर त्यसको दूरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।





























प्रतिक्रिया