नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ। यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन्। शुक्रबार पनि पुगे। सातामा कम्तीमा दुई पटक चितवन पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ।
निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो।
तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ।
चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठले भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका छन्। उनीहरूको दौडधुप काठमाडौं केन्द्रित छ।
गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानगरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी दिएका छन्।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका छन्। सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति श्रेष्ठले बताएका छन् ।
चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो। हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृढ अडानमा कांग्रेस छ। जुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनाविपरीत देखिएको छ।





























प्रतिक्रिया