विवेकशील साझा पार्टीले काठमाडौं महानगरको मेयर(उपमेयर दुबै पदमा महिला उम्मेदवार उठाउने घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने घोषणा गरेको हो ।
‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनस्र्थापित गरौँ’ नाराका साथ महिला उमेदवार अघि सार्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको हो ।
प्रवक्ता शरदराज पाठकका अनुसार बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन । उनका अनुसार ३८ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुन मैं स्नातकोत्तर गरेकी छिन् । गत निर्वाचनमा काठमाडौँ– १ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।
उता, उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधार अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले ‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुवै इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सके देशको मुहार परिवर्तनको सुरूवात हुने’ विश्वास रहेको उल्लेख छन्।





























प्रतिक्रिया