महोत्तरीका माओवादी नेताहरुलाई प्रचण्डले के भनेर फर्काए ?

महोत्तरीका माओवादी नेताहरुलाई प्रचण्डले के भनेर फर्काए ?

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अल्लमल्ल बनिरहेको बेला महोत्तरीका माओवादी केन्द्रका नेताहरूले आफ्ना शीर्ष नेताहरूसँग  छलफल गरेका छन्।

नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर फर्किएका छन्।

साेमबार बेलुका जिल्लास्थित नेताहरूले प्रचण्डसँग छलफल गर्दा गठबन्धनमा अडिग रहन निर्देशन भएको छलफलमा सहभागी केन्द्रीय सदस्य तथा महोत्तरीका नेता प्रकाश पोखरेलले जानकारी दिए ।

वैशाख ५ गतेभित्र उम्मेदवारसमेत टुंगो लगाउन निर्देशन भएको नेता पोखरेलको भनाइ छ। नेताहरूले अध्यक्ष प्रचण्डलाई जिल्लामा पार्टीको अवस्था र सत्ताघटक गठबन्धन दलको विषयमा रिपोर्ट गरेका थिए।

महोत्तरीका नेता तथा केन्द्रीय सदस्य रामकुमार शर्मा, भरत साह, राजु खडका, भवानी खड्का, प्रकाश पोखरेल, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलसहित छलफलमा पुगेका थिए।

मंगलबार नै मधेश प्रदेशमा गठबन्धनको मोडालिटीको समबन्धमा बैठक बस्दैछ भने केन्द्रमा पनि गठबन्धनले आज निष्कर्ष निकाल्ने तयारी भएको छ।

यता गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेताले सभापति शेरशहादुर देउवालाई भेटेर फर्किएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन्। नेपाली कांग्रेसका जिल्ला नेता चिरिन्जिबी हमाल, नागेस्वर यादवलगायतका नेताले आइतबार शीर्ष नेतालाई भेटेर जिल्ला फर्किएका थिए।

गठबन्धनप्रति असन्तुष्टि जनाइरहेका नेता, कार्यकर्तालाई पनि सत्ताघटक दलले निकालेको संयुक्त अपिलले मथर बनाएको छ।

मंगलबार गठबन्धनको मोडालिटी बनेपछि जिल्लामा चुनावी रौनक सुरु हुने देखिएको छ।

माओवादी केन्द्र महोत्तरी पनि उम्मेदवार छान्न अल्लमल्लमा परिरहेको बेला नेताहरूको छलफलले उम्मेदवार छनोटको प्रक्रियामा निर्धक्क भएर लाग्न बाटो खुल्ला भएको नेताहरूले बताएका छन्।

Logo