स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन्।
भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन्। स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरि पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ। कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहने गरि स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।
पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्वसभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए। पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए। पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेकोसमेत कँडेलको आरोप छ।
उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन्।





























प्रतिक्रिया