दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर संजाल बढ्दै

दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर संजाल बढ्दै

केन्द्रबिन्दु
0
Shares

स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्‌वार उठाउनु पर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ। पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेद्‌वारी घोषणा गरिसकेका छन्।

साहित्यकार तथा लेखक गनेश पौडेलले अघिल्लो स्थानीय निर्वाचनपछि स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने एजेण्डा स्थापित गर्ने सोच बनाए। त्यसपछि निरन्तर नजिकका साथीहरूसँग छलफल गरेर पोखरा महानगरपालिकामा आफैंले मेयर पदको उम्मेद्‌वारका रूपमा घोषणा गरे ।

‘४/५ वर्षदेखि मैले यसको डिजाईन गरिरहेको थिएँ। दलका भ्रष्ट नेताहरूविरुद्ध आवाज कसरी उठाउने भनेर धेरै सोचें। त्यही सोचको उपज हो, अटेरी अभियान,’ उनले भने, 'आज देशभर नराम्रा कुरामा हाम्रा साथीहरूले अटेर गर्नुभएको छ। दलहरूलाई प्रेसर बढेको छ।’

अहिले देशभर चार हजार  २८७ जनाले अटेरी उम्मेद्‌वारी घोषणा गरिसकेका छन्। पोखरा महानगरपालिकाभित्रै १५ वटा वडामा अध्यक्षका उम्मेद्‌वार निस्किएका छन् भने कास्कीका अन्य पालिकामा पनि उम्मेद्‌वारी घोषणा भइसकेको छ। अटेरी उम्मेद्‌वारहरूले भूगोल र परिस्थिति अनुसारको कार्ययोजनापत्र सार्वजनिक पनि गरिरहेका छन् । दुई साताअघि पोखरामा देशभरका अटेरी उम्मेद्‌वारहरू भेला भएर एकीकृत घोषणापत्र सार्वजनिक गरेका थिए।

‘जनप्रतिनिधि भनेको इमान्दार हुनुपर्छ। आफ्नो पालिकालाई के बनाउने भन्ने बुझ्न सक्ने हुनुपर्छ,’ पौडेल भन्छन्, ‘पैसाका भरमा जस्ताले पनि चुनाव जित्ने हुँदा हाम्रो भविष्य नै बर्बाद भयो । हामीले उनीहरूलाई अटेर गर्‍यौं ।’ तर अहिले दलहरूलाई पनि राम्रो उम्मेद्‌वार उठाउनुपर्ने दबाब सिर्जना भएको उनी बताउँछन् ।

‘मेरो पार्टीको उम्मेद्‌वार राम्रो नभए गनेशले भोट काट्छ भन्ने सबैलाई लागेको छ । राम्रो उम्मेद्‌वार खोजिरहेका छन्,’ उनले थपे, ‘हामी सही बाटोमा छौं । पहिले जे गर्न खोजेका थियौं अहिले त्यही भइरहेको छ ।’

पार्टीका उम्मेद्‌वारहरूले भेला, जुलुस, आमसभा, कार्यकर्ता भेटघाट, चुनावको नाममा जे पनि गर्न पैसाको खोलो बगाउन थालेकोले भ्रष्टाचार बढेको भन्दै इमान्दार र राम्रा उम्मेद्‌वारले विना पैसा चुनाव जित्ने आधार निर्माण गर्न अभियानको थालनी गरिएको पौडेलले बताए । अटेरी अभियानले आमसभा र र्‍याली नगर्ने घोषणा गरिसकेको छ।

मतदातासम्म पुग्न प्रविधिको प्रयोग गर्ने र चोकचोकमा पुगेर मतदातालाई घोषणापत्र बेच्ने कामको सुरुवात गरिएको छ। चुनावी खर्च चलाउनका लागि ३० रुपैयाँमा घोषणापत्र बेच्ने काम थालिएको अभियानले जनाएको छ ।

दलको विचार नबोकी राजनीति गर्न सक्ने गरि अभियान निरन्तर चलाइरहने अटेरी समूहले जनाएको छ। चुनावी अभियानसँगै देशभर यसको सन्जाल विस्तार भएको छ। विस्तारै यसलाई पार्टीको रूपमा विकास गर्ने तयारी भइरहेको बुझिन्छ। ‘साथीहरूले पार्टी बनाएर लैजाऔं भन्नुभएको छ। हामी यो चुनावलगत्तै एउटा भेला गर्छौं र छलफलको निष्कर्ष अनुरुप अघि बढ्छौं,’ उनले भने, ‘पार्टीको रूपमा विकास हुन पनि सक्छ। तर, अभियान भने निरन्तर रहिरहन्छ।’ अहिले अटेर गरेर उम्मेद्‌वारी घोषणा गरेकाहरूलाई पार्टीले आफ्नो पार्टीबाट चुनाव लड्न भनेका छन् भने कतिपय ठाउँमा फिर्ता लिन दबाब दिइरहेको अभियानका सदस्यहरुले बताएका छन्।

Skip This
Skip This
Logo