विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको ‘खाना वितरण खबरदारी’

विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको ‘खाना वितरण खबरदारी’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्न बाध्य विपन्न मजदूरहरु भोकमरीले छटपटिन थालेपछि साझा पार्टीले खाना वितरण अभियान जारी गरेको छ । भक्तपुरबाट जारी अभियान अहिले उपत्यकाको ललितपूर, काठमाडौं र भक्तपुरका प्रमुख क्षेत्रमा जारी छ ।

‘बिहान खाए बेलुका के खाउँ’ भन्ने विडम्बनाबाट गुज्रिरहेका लाखौंको संख्यामा रहेका विपन्नहरु सर्वहाराको जगबाट उदाएको भनिने सरकारले कुनै राहतको कार्यक्रम संचालन नगरे पछि रचनात्मक खबरदारी स्वरुप यस्ता अभियान संचालन गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए।

‘अति विपन्न लक्षित राहत कार्यक्रम घोषणाका लागि सरकारलाई रचनात्मक खबरदारी गर्न साझा पार्टीले जारी गरेको खाना वितरण अभियानले थोरै समयमा यति धेरै प्रतिक्रिया, प्रशंसा र सहयोगी हातहरुको साथ पाउनु पनि विपतमा अभिभावक हुनु पर्ने सरकारको तमासेपारा र निकम्मापनकै कारण हो , केन्द्रीय सदस्य परियारको विश्लेषण छ।

साझा पार्टी खाना वितरण अभियानका अभियन्ता कपीलदेव कर्माचार्य भन्छन् ‘भोका निमुखालाई सेवा गर्न पाँउदा आनन्द त आँउछ, तर सरकारको बेवास्ता देख्दा बिद्रोही बनाउँछ । हाम्रो पहल सकारात्मक दवाब र मानवीयतानै मुख्य हो ।

यसैबीच साझा पार्टीले ललितपुरमा विवेकशील नेपाली दलसँग मिलेर संचालन गरेको तातो भात अभियान प्रभावकारी बन्दै गएको साझा पार्टीका ललितपुर संयोजक उज्जवलकृष्ण श्रेष्ठले बताएका छन् । खाना वितरण अभियान अन्तर्गत भक्तपुरको च्यामासिंह , कमलबिनायक, सूर्य विनायक, गठ्ठाघर, पुरानो ठिमी र कौशलटारमा विहान १० बजे र साँझको ५ बजे संचालन भईरहेको साझा अभियन्ता रोशन बस्नेतले जानकारी दिएका छन् ।

बुधबार बानेश्वर र स्वयम्भूबाट शुरु काठमाडौंको अभियान बिहीबारबाट चाबहील, सिनामंगल र भत्केकोपुलमा पनि बिस्तार गरिएको साझा अभियन्ता चोकराज घिमिरेले जानकारी दिए ।
उपत्यकामा मात्रै निर्माण कार्यमा आवद्ध अढाई लाख मजदूर, अनौपचारिक क्षेत्रमा श्रम गर्ने २९ हजार कामदार, रिक्सा मजदूर, भरिया जस्ता दैनिक ज्याला मजदूरी गरी जिवीकोपार्जन गर्नु पर्ने हजारौंको संख्याका मजदूरहरु अहिले एक छाक टार्न धौधौको अवस्थाबाट तड्पिरहेका छन् ।

Logo