नेकपा एमालेले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरे त्यसको प्रतिवाद गर्ने भएको छ। एमालेको सोमबार बेलुकी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले त्यसको कडा प्रतिवाद गर्ने र सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने बताएको छ।
सरकारले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको बताउँदै एमालेले त्यसको प्रतिवाद गर्ने जनाएको छ। एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्नसमेत पार्टी कमिटीहरुलाई निर्देशन दिएको बताए। बैठकले घोषणा पत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ । उक्त घोषणापत्र ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने उनले बताए ।
स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको छ। एमालेका १२ वटा विभाग गठन, सल्लाहकार परिषदमा १०५ जना थप गरि २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णयसमेत गरेको छ। यसैगरी पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको प्रचार विभाग प्रमुख गुरुङले बताए।





























प्रतिक्रिया