गृह मन्त्रालयद्वारा विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोध स्थगन

गृह मन्त्रालयद्वारा विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोध स्थगन

केन्द्रबिन्दु
0
Shares

चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ। 

‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गरिइकाे छ,’ गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन टिआइए अध्यागमन कार्यालयले वैशाख तीन गते एक सूचना प्रकाशित गरि भनेको थियो। 

सो निर्णयको व्यापक आलोचना भएपछि अध्यागमनले आज अर्को सूचना प्रकाशित गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको हो। 

मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक, अध्यागमन कार्यालय टिआइएका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरि उक्त निर्णय स्थगित गरिएको हो।

टिआइएमा हाल सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पिओएस मेसिनहरु थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटीएम मेसिन थप गर्ने गरि आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरिएको छ। 

भिसा शुल्क सम्बन्धमा कुनै असुविधा परेको/नपरेको विषयमा टिआइए अध्यागमन कार्यालय, नागरिक उड्डयन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन र निगरानी गरि तत्काल सूचना आदान प्रदान मार्फत समस्या समाधान गर्ने निर्णयसमेत गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ।

Skip This
Skip This
Logo