संविधानसभाकी सदस्य तथा पूर्वराजदूत लक्की शेर्पा नेकपा एमाले प्रवेश गर्दै छिन् । नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसकै दिन शेर्पा आज एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर्पालाई एमालेमा स्वागत गर्नेछन् । शेर्पासँगै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य धर्मदत्त देवकोटा पनि आजै एमाले प्रवेश गर्दै छन् ।
पहिलो संविधानसभामा एमालेबाट सदस्य भएकी शेर्पा पछि भने नेकपा माओवादी प्रवेश गरिन् । पहिलो संविधानसभापछि लक्की शेर्पाले रामचन्द्र झासँगै एमाले छाडेर माओवादी प्रवेश गरेकी थिइन् । दोस्रो संविधानसभामा माओवादीको सिट कम आएकाले लक्की सभासद् बन्न पाइनन् । तर, प्रचण्डले उनलाई अस्ट्रेलियाको राजदूत बनाए ।
अस्ट्रेलियाको राजदूत रहेकै अवस्थामा शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अस्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्। त्यसपछि तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्य तथ्य बुझ्न काठमाडौँ बोलाएका थिए । २०७५ मङ्सिर २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पालाई राजदूतबाट फिर्ता बोलाएको थियो ।
एमाले नेतृत्वको सरकारले फिर्ता बोलाएको तिनै शेर्पा आज एमाले प्रवेश गर्दै छिन् ।
कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आज एमालेले १७ जना कम्युनिस्ट योद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । एमालेले आजै थापाथली हाइटमा रहेको पार्टी कार्यालय सार्ने कार्यक्रम पनि रहेको छ । ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेले केन्द्रीय कार्यालय सार्दैछ । प्रतिष्ठानको भवन ५ वर्षका लागि एमालेले भाडामा लिएर कार्यालय सञ्चालन गर्न लागेको हो ।
यसैबीच वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले चुनावी घोषणापत्र पनि आजै सार्वजनिक गर्ने कार्यक्रम छ ।





























प्रतिक्रिया