चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ।
नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो। विभाजनसँगै स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी) ले डडेल्धुरामा छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गर्ने भएका छन्।
नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुरा जिल्लाको प्रदेश ख बाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस विपीबाट स्थानीय तहमा उम्मेदवारी दिने तयारीमा जुटेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरु नेपाली कांग्रेस (विपी) बाट स्थानीयतहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।
'नेपाली कांग्रेसबाट उम्मेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रिय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस (विपी) बाट चुनावी मैदानमा जाने तयारी गरेका हौं' महिला नेतृ कमला बिष्टले बताइन् ।
जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरुसँग तालमेलको प्रयासहरु पनि भइरहेकाले भोलि मात्रै उम्मेदवारी दर्ता गरिने नेपाली कांग्रेस विपीका जिल्ला संयोजक तिलक हमालले जानकारी दिए।
नेपाली कांग्रेस बाहेकका जुनसुकै दलहरुसँग तालमेल हुनसक्ने संयोजक हमालको भनाइ थियो ।
देशभरी गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरे पश्चात नेपाली कांग्रेस छाडेर कांग्रेस विपीबाट छुट्टै उम्मेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ।





























प्रतिक्रिया