नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनमतका हिसाबले अहिले पनि नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन्।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागिपरेको गठबन्धनको विरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधरहरु एकजुट हुन आवश्यक रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मकरुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताए ।
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए । उनले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र मतदाताहरुलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए ।
उनले सरकारी ढंगले एकलौटीरुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणनापूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताए । महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसाबले मात्रै नभइ परिणामका हिसाबले पहिलो पार्टी बन्ने दाबी गरे। उनले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजितरुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, सांघातिकरुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाए ।
महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृत्ति देखाएको बताए । उनले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताए । उनले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरुमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।





























प्रतिक्रिया