काठमाडौं ।
मानिसको जीवनमा सफलता र असफलता एक सिक्काका दुई पाटो हो । मानिसहरु पटक पटक असफल हुँदै कठोर मिहेनतबाट अन्त्यमा सफल हुन्छन् । तर नेपालको राजनीतिक सन्दर्भमा भने यस्तो मिलेको पाईंदैन । यहाँ त असफल हुनु भनेको नै सफल हुनु हो जस्तै भएको छ । अन्य क्षेत्रमा के कस्तो हुन्छ त्यो त मलाई थाहा छैन । तर राजनीतिमा असफल हुनु भनेको सफल हुनु नै हो । पत्याउनु भएन ? तर तपाईंलाई नपत्याइ सुखै छैन ।
अब हाम्रो संसदको माथिल्लो सदन राष्ट्रिय सभामा हेर्नु होस् न । विश्वभरको अभ्यासलाई हेर्दा दुई सदन भएका देशहरुमा माथिल्लो सदन अर्थात् हाम्रोमा भएको राष्ट्रिय सभा जस्तो सदनलाई परिपक्कहरुले प्रतिनिधित्व गर्ने थलोको रुपमा बुझिन्छ । जसलाई प्रतिनिधि सभाबाट भएका वा हुन सक्ने गल्तीहरुलाई सच्याउने थलो पनि मानिन्छ । कुनै पनि देशमा देशभरका सबै जनता शिक्षित हुँदैनन् र सबै शिक्षितले रोजगारी पाएका हुँदैनन् । त्यसैले प्रतिनिधि सभामा उम्मेदवार बन्ने सदस्यले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर चुनाव जित्न सक्छन् । किन भने प्रतिनिधि सभा सदस्यले जनताको प्रत्यक्ष मतदानले चुनाव जित्ने वा हार्ने हुन्छ ।
चुनाव जितेपछि प्रतिनिधि सभा सदस्यले आफ्नो स्वार्थका लागि गलत नीति, नियम र कानुन बनाउन सक्छन् । त्यसैले त्यस्ता गलत कामलाई रोक्नका लागि राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले माथिल्लो सदनमा उमेरले परिपक्क, विषय विशेषज्ञ वा कुनै खास विषयका ज्ञातालाई पठाइन्छ । राष्ट्रिय सभा सदस्यको छनोट प्रदेशका सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतदानबाट गरिन्छ । जुन साधारण जनताभन्दा सबै क्षेत्रमा जानकार हुन्छन् । तर हाम्रोमा अहिले माथिल्लो सदन जनताद्वारा अस्वीकृत नेतालाई व्यवस्थापन गर्ने थलो बनाइदैछ ।
सात सात जना माननीयहरुले विभिन्न चुनावमा हारेर पनि राष्ट्रिय सभा सदस्यमा जितेका छन् । यतिबेला सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय गरिएको छ । जबकि उपाध्यक्ष गौतम ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पराजित पात्र हुन् । उनी मात्र नभएर राष्ट्रिय सभामा विभिन्न तहका प्रत्यक्ष निर्वाचनमा पराजित भएका ६ जना यसअघि नै राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका छन् ।
जसमध्ये बर्दिया १ बाट पराजित गौतम, गोरखा–२ बाट पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सप्तरी–४ बाट पराजित जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह, प्रदेश सभा चुनावमा दाङ–३ (१) बाट पराजित नेकपाका जगप्रसाद शर्मा, तनहुँ भानु नगरपालिकाको प्रमुखमा पराजित भगवती न्यौपाने, कपिलवस्तु वाणगंगा नगर प्रमुखमा पराजित विमला घिमिरे र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ को वडा सदस्यमा पराजित सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
नेपालको संविधान २०७२ मा राष्ट्रिय सभामा कूल ५९ जना सदस्य रहने व्यवस्था गरिएको छ । जसमध्ये सात प्रदेशबाट आठ,आठ जना गरी कूल ५६ जना र बाँकी रहेका तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण विडारी र योजनाविद् विमला राई पौडेललाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी थिइन् ।
संविधानको धारा ८६ (३) ले एक तिहाइ राष्ट्रिय सभा सदस्यको समयवधि दुई वर्षको हुने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार अर्थमन्त्री खतिवडासहित अन्य १८ जना सदस्यको गत फागुन २० गते पदावधि सकिएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा पहिलो पटक दुई वर्षे कार्यकालका लागि गोला प्रथाबाट टुंगो लगाइएको थियो । दुई वर्षको पदावधि सकिएर रिक्त रहेका १९ सदस्यमध्ये १८ जना सदस्यहरुको गत माघ ९ गते निर्वाचन भएको थियो ।
कूल १८ सिट मध्ये नेकपाले १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दुई सिटमा विजयी भएको थियो । बाँकी रहेको एक सीट गत फागुन महिनादेखि रिक्त रहेको छ । सोही रिक्त सीटमा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरिएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयको सदर गरेका थिए ।





























प्रतिक्रिया