भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छन्।
अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताइन् । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन् ।
उनले भने,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उनले भने,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।”
पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् । पहिलो पटक उनि निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो ।
पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन् । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उनले बताइन् ।
भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उनले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गरिन् । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उनको भनाइ थियो ।





























प्रतिक्रिया