नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए।
उनले भने, “गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित बनेको गुनासो रहेको छ। यस्ता गुनासा नआउने गरि काम गर्नुस्।” स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए।
देशमा दीगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताए। पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीहरुले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए। पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।
फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताए। गठबन्धनबाट निर्वाचन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने उनले बताए। स्थानीय तहको निर्वाचनमा देखिएको कमजोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनुपर्ने उनले बताए।
कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए।
प्रतिक्रिया