राप्रपाले आज आफ्नाे ३३ औं स्थापना दिवस मनाउँदै (ऐतिहासिक घटनाक्रमसहित)

राप्रपाले आज आफ्नाे ३३ औं स्थापना दिवस मनाउँदै (ऐतिहासिक घटनाक्रमसहित)


राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नाे ३३ औं स्थापना दिवस मनाउँदैछ। साे अवसरमा पार्टीका प्रवक्ता माेहन श्रेष्ठले पार्टीका अग्रज नेताहरू, समकालीन र सबै तहका देशभक्त राष्ट्रवादीहरू, स्वदेश विदेशमा रहेका शुभेच्छुक शुभचिन्तकलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राप्रपालाई देशको अग्रणी शक्ति बनाउने शक्तिशाली संकल्प गरौं भन्दै उनले राप्रपाप्रति जनताकाे विश्वास बढ्दै गएकाे बताए। राप्रपाकाे स्थापना  २०४७ जेठ १५ गते भएकाे थियाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक घटनाक्रम :

१. पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) को एकै दिनमा स्थापना-२०४७ जेठ १५ गते ।

२. राप्रपा (थापा) को केन्द्रीय सम्मेलन-२०४७ फागुन २०-२२ गते ।

३. २०४७ बैशाख २९ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा (चन्द) का १५४ निर्वाचन क्षेत्रमा खडा भएका उम्मेदवारहरुले कुल ४,७८,६०४ (६.५६% ) मत सहित सिन्धुपाल्चोक-३ बाट पशुपति शमसेर जबरा, नुवाकोट-१ बाट डा. प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य एवं राप्रपा (थापा) का १६३ उम्मेदवारहरुले ३,९२,४९९ (५.३८%) मत हासिल गरेपनि दार्चुला-२ बाट अकवरबहादुर सिंह मात्र बिजयी ।

४.  राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बीच एकीकरण भई राष्ट्रिय प्रजातन्त्र पार्टी नामाकरण र अध्यक्षमा सुर्य बहादुर थापा, पार्टी नेतामा लोकेन्द्र बहादुर चन्द र सह- अध्यक्षमा राजेश्वर देवकोटा रहने सामूहिक नेतृच्व- २०४८ माघ २५ गते श्रीपन्चमीको दिन।

५. पहिलो स्थानीय निर्वाचन २०४९ मा राप्रपाले ३ जिल्ला विकास समिति सभापति (कपिलवस्तु, जाजरकोट र रसुवा), ७ जि.बि.स. उपसभापति, २ मेयर, १ उपमेयर, ३९० गा.वि.स. अध्यक्ष, ३७६ उपाध्यक्ष र ३ हजार ७०५ वडाध्यक्ष निर्वाचित भएका थिए, जुन कुल परिणामको ९.७ % थियो ।

६. हालका पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन केन्द्रीय समिति गठन- २०४९ मंसिर २८ गते ।

७. राप्रपाको प्रथम केन्द्रीय महाधिवेशनबाट त्रय नेता, त्रय उपाध्यक्ष, त्रय महामन्त्री र द्वय प्रवक्ता रहने व्यवस्थासहित  निर्वाचन -२०५० जेठ २९ देखि असार २ गते, दशरथ रंगशाला ।

८. मध्यावधि निर्वाचन २०५१ मा २०२ निर्वाचन क्षेत्रमा उम्मेदवारहरु खडा भई  कुल १३,६७,१४८(१७.९३%) मत र २० सिटमा बिजय हासिल गर्यो । ३४ निर्वाचन क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी ।

९. महोत्तरी-३ बाट निर्वाचित राप्रपा सांसद राम बिलास यादव प्रतिनिधि सभाको उपसभामुख निर्वाचित ।

१०. राप्रपा सन् १९९४ मा International Democratic Union  को सदस्य ।

११.  शेरबहादुर देउवा नेतृत्वको नेका-राप्रपा-नेसपा संयुक्त मन्त्रिपरिषदमा पार्टीगत रुपमा राप्रपाको पहिलो मन्त्रीको रुपमा कमल थापा कानून तथा न्याय र संसदीय मन्त्री नियुक्त – २०५२ भदौ २७ गते

१२. नेकपा एमाले र नेसपाको समर्थनमा राप्रपा सांसद लोकेन्द्रबहादुर चन्द राप्रपाको पहिलो प्रधानमन्त्री नियुक्त- २०५३ फागुन २७ गते 

१३. दोस्रो स्थानीय निर्वाचन २०५४ मा राप्रपाले ४ जिल्ला विकास समिति सभापति (बैतडी, कालिकोट, रुपन्देही र सिरहा), १२ जि.वि.स. उपसभापति, ३ मेयर, ३०८ गा.वि.स. अध्यक्ष, ३१६ उपाध्यक्ष र कुल ४ हजार ३२८ (१२.६%)  जनप्रतिनिधि निर्वाचित भएका थिए।

१४. सूर्यबहादुर थापा राप्रपा-नेका-नेसपा संयुक्त सरकारको प्रधानमन्त्री नियुक्त – २०५४ असोज २० गते ।

१५. राप्रपाको दोश्रो महाधिवेशन वीरगंजमा-२०५४ मंसिर, सूर्यबहादुर थापा राजेश्वर देवकोटालाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।

१६. सत्ता स्वार्थका कारण राप्रपामा आन्तरिक विवाद, पार्टी विभाजनको शुरुआत, राप्रपा विभाजन भइ २०५४ पुष २५ मा पुन: राप्रपा (चन्द) गठन ।

१७. विभाजनको कारण स्वरुप २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपा ९,०२,३२८(१०.१४%) मत र ११ सिटमा खुम्चियो। जबकी राप्रपा (चन्द) ले २,९५,८१२ (३.३३%) मत प्राप्त गर्‍यो ।

१८. राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो महिला सांसद रेणु यादव, सप्तरी-३, प्रतिनिधि सभा सदस्य निर्वाचित २०५६

१९. २०५६ मा पुन: राप्रपा र राप्रपा(चन्द) बीच एकीकरण । राजेश्वर देवकोटाले राप्रपा राष्ट्रवादी गठन ।

२०. राजाको ०५९ असोज १८ को कदमपछि राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्रीमा नियुक्ति- २०५९ असोज २५ गते ।

२१. राप्रपाको नेतृत्व हस्तान्तरण प्रकृया स्वरुप २०५९ मंसीर २६-२८ पोखरामा सम्पन्न तृतीय केन्द्रीय महाधिवेशनबाट पशुपति शमसेर जबरा अध्यक्ष निर्वाचित । डा. प्रकाशचन्द्र लोहनी र रबीन्द्रनाथ शर्मा पनि उम्मेदवार बन्नु भएको थियो ।

२२. राप्रपा नेता सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भई राप्रपाकै मन्त्रीहरु रहेको ७ सदस्यीय सरकार गठन- २०६० जेठ । राप्रपाकी पहिलो महिला राज्य मन्त्री रेणु यादव ।

२३. लामो समयदेखि रिक्त स्थानीय निकायमा सरकारले जिल्ला विकास समिति सभापति, उपसभापति, नगरपालिकामा मेयर, उपमेयरहरु मनोनयन ।

२४. माओवादीद्वारा राप्रपाका केन्द्रीय सदस्य पुर्वमन्त्री एवं सिरहा-३ का सांसद कृष्णचरण श्रेष्ठ, अर्घाखाँची जिल्ला अध्यक्ष शोभाकर भुषाल, मेयरहरु गोपाल गिरी वीरगंज, हर्कबहादुर गुरुङ पोखरा, धनबहादुर बम धनगढी, राजेन्द्र श्रीबास्तव गुलरिया, गीतानिधि रायमाझी इटहरी लगायत राप्रपाका दर्जनौं नेता कार्यकर्ताको हत्या ।

२५. सरकार पार्टीसँग समन्वय नगरी आफूखुशी चलेको भन्दै राप्रपा केन्द्रीय कार्य समितिको बैठकमा २७ केन्द्रीय सदस्यको बहुमतको निर्णयले प्रम सूर्यबहादुर थापालाई राजीनामा दिन अल्टिमेटम दिने प्रस्ताव पास, ६ जना बिपक्षमा, २ जना तटस्थ र २ जना अनुपस्थित – २०६० मंसिर २ ।

२६. सरकारबाट बहिर्गमन पश्चात सूर्यबहादुर थापाद्वारा राष्ट्रिय जनशक्ति पार्टी स्थापना । डा. प्रकाशचन्द्र लोहनी सहअध्यक्ष मनोनित- २०६२ जेठ ४ ।

२७. २०६२ पौष २४-२६ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बोलाइएको विशेष महाधिवेशनले विधान संशोधन गरी अध्यक्ष पशुपतिशमसेर जबरालाई अविश्वास प्रस्ताव पारित गरि हटाएर रिक्त अध्यक्ष पदमा गृहमन्त्री कमल थापा निर्विरोध निर्वाचित । तर पछि निर्वाचन आयोगले राप्रपाको मान्यता पशुपति शमसेर राणाको नेतृत्वलाई नै दिने निर्णय गरेकोले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन ।

२८. राप्रपाको चौथो महाधिवेशन पशुपति शमसेर जबरालाई नै पुन: अध्यक्ष निर्वाचित गरी २०६४ मंसीर २३-२५ गते काठमाडौमा सम्पन्न ।

२९. राप्रपा र राजपा बीच एकीकरण गरि राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी नामाकरण । तत्पश्चात भएको महाधिवेशनले पार्टीको नाम राप्रपा नै कायम गर्ने निर्णय ।

३०. संविधान सभाको पहिलो निर्वाचनमा समानुपातिक तर्फ राप्रपाले ८ सिट, राप्रपा नेपालले ४ सिट र राजपाले ३ सिट प्राप्त ।

३१. राप्रपा नेपालको राष्ट्रिय सम्मेलन ललितपुरमा २०६६ भदौ २९-३१  र अर्को २०७० माघ १४-१६ मा काठमाडौंमा सम्पन्न ।

३२. राप्रपा नेपालद्वारा ऐतिहासिक जनकपुर-लुम्बिनी- बिन्दबासिनी-पशुपतिनाथ रथयात्रा सम्पन्न – २०६९ पुष २-११

३३. राप्रपा नेपालद्वारा गोरखाबाट प्रारम्भ गरि देशभर राष्ट्रिय एकता यात्रा – २०७० 

३४. २०७० मंसिर ४ मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा राप्रपाले  प्रत्यक्ष तर्फ ३ सिट, समानुपातित तर्फ ९ सिट र राप्रपा नेपालले ६,३०,६९७ मतसहित २४ सिट प्राप्त ।

३५. राप्रपा नेपालको पहिलो महाधिवेशनबाट पदमसुन्दर लावतीलाई पराजित गर्दै कमल थापा अध्यक्ष पदमा निर्वाचित-२०७१ जेठ १०- १३

३६. संविधान जारी भएपछि वनेको ओली नेतृत्वको सरकारमा कमल थापा उपप्रधानमन्त्री नियुक्त : २०७२ असोज २५ गते । यसैगरी प्रचण्डको सरकारमा २०७३ फागुन ४ र देउवा सरकारमा २०७४ असोज २८ गते कमल थापाको नेतृत्वमा राप्रपा सरकारमा सहभागी ।

३७.  पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एकता – २०७३ मंसिर ६ गते गते ।

३८. एकता महाधिवेशन- कमल थापा अध्यक्षमा निर्वाचित – २०७३ फागुन ६ गते, पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी ।

३९. डा. प्रकाशचन्द्र लोहनी राप्रपाबाट बहिर्गमन भइ एकिकृत राप्रपा (राष्ट्रवादी) को नेतृत्व ग्रहण- २०७३ चैत १९ गते

४०.  राप्रपा विभाजन, पशुपतिशमशेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन – २०७४ साउन २२ गते 

४१.  सर्वोच्च अदालतले राप्रपा विभाजनलाई मान्यता- २०७४ भदौ २२ गते

४२. २०७४ मंसिर १० र २१ गते  भएको संसदीय निर्वाचनमा राप्रपालाई संघमा १ सिट, प्रदेशमा ३ सिट/राप्रपा (प्रजातान्त्रिक) लाई प्रदेशमा १ सिट मात्रै ।

४३. राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा.लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी एकता भइ राप्रपा संयुक्त गठन – २०७५ माघ १८ गते ।

४४. राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकता, त्रय अध्यक्ष( राणा, थापा र लोहनी) को अवधारणामा एकता – २०७६ फागुन २८ गते ।

४५. २०७८ मंसिर १५-१९ सम्म काठमाडौंमा पुन: एकता महाधिवेशन । कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित ।

४६. महाधिवेशनमा पराजय पश्चात ०७८ माघ २४ गते कमल थापाद्वारा पार्टी परित्याग, नयाँ पार्टी गठन ।

Logo