घनश्याम भुसालबारे पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल

घनश्याम भुसालबारे पार्टी कमिटीमा छलफल गरेर निर्णय लिन्छौं : पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर मात्र निर्णय लिइने बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए।

यो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताउँदै उनले आन्तरिक कुरामा बाहिर धेरै चर्चा हुने गरेको नेता पोखरेलले बताए। 'कुनै पनि चिज कमिटीमा छलफल हुन्छ। यदि कुनै विषय हो भने कमिटीमा आउँछ। छलफल हुन्छ। कमिटीले निर्णय गर्छ', उनले भने 'बाहिर जसरी सुन्छु नि मैले, म न्युजहरू हेर्छु। पढ्छु । मलाई पनि अचम्म लागेको छ। केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोली विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो। बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो। त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी।'

यसैगरी एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरूलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए। पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ।

आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताउँदै उनले यतिबेला एमालेमा एकताको आवश्यकता रहेको बताए । एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरूलाई सहयोग गरेको ठहरिने उनको भनाई थियो । 'यतिबेला नेकपा(एमाले) एकतावद्ध भएर अगाडि जानुपर्छ । हामी आवेग, उत्तेजनामा होइन केहीपनि आउनु हुँदैन । र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ', उनले भने ।  

Logo