सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजी सहित चर्को आलोचना गरिएको छ ।
प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले यदी राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरुलाई पोस्ने काम गरेको उनको भनाइ थियो ।
उनले भने, ‘राज्यको सुरक्षा गर्ने दायित्व सरकारको हो भने त्यसमा लगानी गर्ने, खर्च गर्ने बजेट पनि सरकारले जुटाउनुपर्छ । जनताको गोजीबाट लिएर लुटेको पैसाले इम्बोस्ड प्लेट हाल्ने र राज्य सुरक्षाको नाममा दोहन गरेर माफियाहरुलाई पोस्ने काम यो सरकारले गरिरहेको छ । यो इम्बोस्ड प्लेट लागु गर्ने नाममा बाहिर देखाइएको छ राष्ट्रिय सुरक्षाको हितको विषय, यातायात व्यवस्थापनको विषय तर त्यहाँ भित्र केही माफियाहरु, यसको योजना बाहिरबाट बनेको होइन । शेरबहादुर देउवाको निवास बुढानिलकण्ठबाट र प्रधानमन्त्री निवास बालुवाटार बाटै बनेको योजना हो यो । त्यो योजना अनुसार सेटिङका आधारमा अहिले एक महिनाभित्र सबै जनतालाई इम्बोस्ड प्लेट राख्न अनिवार्य गरिएको छ ।’
इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि लिखित उजुरी दिइने जानकारी दिए । विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइदैनँ, महंगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको व्यानर समेत युवा संघले प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया