नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्ने बताएकी छिन्।
बुधबार संसद भवनमा उनले जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्ने बेला भइसकेको बताएकी हुन्।
नेकपा एमालेकी सचिव तथा पूर्व मन्त्री समेत रहेकी नेता अर्यालले संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरी राख्न नहुने उनले बताइन्। 'महाअभियोग लगाइसकेपछि कानून, संविधानमा जे व्यवस्था छ, त्यसलाई त पुरा गर्नुपर्यो नि प्रक्रिय। त्यसैले संसदबाट ल्याएर छलफल गरेर जे टुंगो गर्ने हो, गर्नुपर्छ', उनले भनिन्, 'त्यतिखेर एउटा उद्देश्य पूर्तिको निम्ति महाअभियोग लगाउने। अभियोग लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र? त्यसैले कि दर्ता गर्नु हुन्थेन।'
नेता अर्यालले जबराविरुद्धको महाभियोग पारित गर्न नल्याएको समेत बताइन्। 'एमालेले त त्यतिबेला नै भनेको थियो, यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन। निश्चित उद्देश्य पुरा गर्नको निम्ति ल्याएको हो भनेर जे भनेका थियौँ त्यो कुरा आज पुष्टि भएको छ', अर्यालले भनिन्, 'त्यसैले फेरि पनि हाम्रो कुरा के छ भने कि लगाउनु हुन्थेन। लगाइसकेपछि संसदमा ल्याएर, छलफल चलाएर , जे टुंगो गर्ने हो टुंगो गर्नुपर्छ भन्ने हो हाम्रो कुरा। यो कानूनसम्मत् कुरा हो।'





























प्रतिक्रिया