नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले नेपालको पानी नीति परिवर्तन गर्न जरुरी रहेको बताएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। ‘२१ औं शताव्दीको लडाइँ अब हतियारबाट पानी प्राप्तिको लागि हुन्छ भनेर उद्घोष भएको छ। नेपाल त्यसबाट अछूतो रहन सक्दैन्’, उनले भनिन्, ‘नेपाल जहाँ लगभग ५२ प्रतिशत जनतामात्रै धाराबाट पानी खान पाउँछन्। अरु जनसंख्याले कुवा, इनार ट्युबवेलबाट मात्रै पानी प्राप्त गर्ने प्रावधान रहेको छ। त्यही भएर नेपालको पानी नीति परिवर्तन हुन जरुरी छ।’
खानेपानीलाई उद्योगको रुपमा विकास गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘पहिलो प्राथमिकता नेपालका जनतालाई खानेपानीको आपूर्ति गर्नुपर्छ। त्यसपछि त्यसलाई कृषि, उद्योगलगायतका काममा प्रयोग गर्नुपर्छ।’ नेपालबाट पछिल्लो समय बोतलको पानी खाडी मुलुकमा निर्यात गरिरहेको बताउँदै उनले यसलाई थप प्रवर्द्धन गर्नुपर्ने बताइन्।
यस्तै खानेपानीको स्रोतमाथिको चुनौती पनि रहेको सांसद भुसालले बताइन्। ‘प्राकृतिक र मानवीय कारणले मुहान पनि जोखिममा छन् । यसतर्फ सरकारले सोच्नुपर्छ’, उनले भनिन्।
प्रतिक्रिया