नेकपा (एमाले) का सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन समिति गठन गर्न प्रस्ताव गरे। 'नेतृत्व आएको एक महिना भइसक्यो तर काठमाडौंमा फोहोरमैलाको समस्या झनै बढेको छ', उनले भने, 'त्यसैले मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरियोस्, म समाधान गर्छु।'
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका, धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिबीच आज (शुक्रबार) १८ बुँदे सहमति भएको छ। आजैदेखि फोहोर उठाउनेगरी सहमति भएको हो।
काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेँसी नगरपालिका १ का वडाध्यक्ष बहादुर तामाङ, ३ का वडाध्यक्ष प्रकाश हमाल तथा ककनी १ का वडाध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी र २ का वडाध्यक्ष तिलकबहादुर लामाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार अब सिसडोल र बन्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ। जसका लागि तीन महिनाभित्र काठमाडौं महानगरले बत्तीसहित बाटो मर्मत गर्नेछ।
प्रतिक्रिया