काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले फोहोरलाई जैविक वा अजैविक घरबाटै छुट्टाउन अनुरोध गरेकी छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जैविक र अजैविक फोहोर छुट्याइदिन अनुरोध गरेकी हुन् ।
काठमाडौं महानगरपालिकाले अहिले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताइन् । बन्चरे डाँडामा स्थानीयले आन्दोलन गरेपछि लामो समयदेखि काठमाडौंमा फोहोर उठ्न सकेको थिएन ।
शुक्रबार स्थानीयबासीसँग पनि सहमति पाएपछि काठमाडौंका फोहोर उठ्न थालेका हुन्। उनले भनिन्, ‘हामीले फोहोर मैला व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं। र हिजोबाट फोहोर पनि उठ्न थालेको छ ।’ उनले यसरी फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान भने नभएको बताइन्। त्यसको लागि फोहोरहरू छुट्याउनुपर्ने उनले बताइन्।
‘यो दीर्घकालीन समाधान भने पक्कै होइन। हामीले फोहोर मैलालाई सेग्रेगेशन एट द सोर्स अर्थात् जहाँ स्रोत हो त्यहीँ नै विकेन्द्रीकरण गरेर फोहोरको व्यवस्थापन यतै गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैलाई नै हामीले दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउँदै छौ। छिट्टै लागू गर्छौं।’
उनले थपिन्, ‘यहाँहरू सबैलाई विनम्र अनुरोध छ फोहोर घरैबाट जैविक-अजैविक छुट्टाइदिनुहोला। केही समय गाह्रो होला तर पछि बानी पर्दै गएपछि यस्तो सजिलो काम अगाडि नै गर्नुपर्ने रहेछ भन्ने पनि लाग्न सक्छ। सकेसम्म जैविक फोहोरहरूलाई घरैमा मल बनाउन पनि अनुरोध गर्छु।’ यसअघि काठमाडौं महानगरपालिकाले पनि कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेको थियो। त्यसरी नछुट्याए फोहोर नै नउठाउने बताइएको थियो।





























प्रतिक्रिया