जुनसुकै हालतमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्‍नुपर्छ : मुख्यमन्त्री राउत

जुनसुकै हालतमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्‍नुपर्छ : मुख्यमन्त्री राउत

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन आग्रह गरेका छन्। 

सर्वोच्च अदालतको आदेशपछि निर्माण कार्य प्रभावित रहेको बेला दुवै समितिका अगुवाहरू प्रदेश राजधानी जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेका हुन्। 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले विमानस्थल निर्माणका लागि मधेस प्रदेशबाट पूर्ण सहयोग हुने बताए। विमानस्थल निर्माण भए मधेसको आर्थिक, पर्यटन र विकासको मेरुदण्ड हुने उनको भनाइ छ।

‘कुनै पनि हालतमा निजगढ विमानस्थल बन्‍नुपर्छ र कुनै बहानाले यो आयोजनालाई आलटाल गर्नुहुन्‍न। कोही कसैले स्थान परिवर्तन गर्ने सोचेको छ भने यो हुन दिनुहुन्‍नँ ’, मुख्यमन्त्री राउतले भने। 

प्रदेश सांसद रामबाबु यादवले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिए।  उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नरहेको बताए। 

समितिहरूले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, अर्थमन्त्री जनार्दन शर्मा, वनमन्त्री रामसहायप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायतलाई ज्ञापनपत्र बुझाएका छन् ।

विमानस्थल निर्माणको सुनिश्‍चितता नभए आन्दोलन गर्ने निजगढ सरोकार समिति संयोजक एकबहादुर श्रेष्ठले बताए। उनले वातावरणीय सन्तुलन कायम गर्दै विमानस्थललाई ‘ग्रिन एयरपोर्ट’ बनाउने चाहना रहेकाले विमानस्थल निर्माणमा पहल गरिदिन सबै दल र पक्षलाई आग्रह गरिएको उनले बताए। 

Skip This
Skip This
Logo