जीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित

जीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित

केन्द्रबिन्दु
0
Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु नै नभई स्थगित भएको छ ।

बकुलिया क्याम्पसको सभाहलमा शुक्रवार आयोजना गरिएको सभा विषय प्रवेश नगरी स्थगित भएको हो । कार्यपालिका बैठकमा निर्णय नै नगरी निति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन नसकेको हो । नगर सभामा प्रस्तुत हुनुअघि निति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई थियो ।

सभा सुरु हुनुअघि वडाको निति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग् आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । तर, वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल हुन नसकेपछि प्रमुख पौडेलले सभा स्थगित गरेका हुन् ।

नगर प्रमुख राजन पौडेलले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरेका थिए । पौडेलले गणपुरक संख्या नपुगेको बताईरहदा सभा हल भने नगर सभा सदस्यले भरिएको थियो । नगर सभाको विषयमा असहमति  जनाएका नगर सभा सदस्यले उपस्थिती पुस्तिकामा हस्ताक्षर नगरेका कारण गणपुरक संख्या नपुगेको हो ।

नेकपा माओवादी केन्द्रबाहेक अन्य दलबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्यबाट अधिकांशले उपस्थिति जनाएका थिएनन् बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब ३ बजेसम्म सुरु नभएपछि प्रमुख पौडेलले स्थगित गरेका थिए । स्थगित गरिएको सभाको अर्को मिति भने तोकिएको छैन् ।

हामीलाई अन्यौलमा राखेर सभा हुँदैनः वडाध्यक्ष

कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र वडाको  विषयमा छलफल नभएको भन्दै वडाध्यक्षहरुले चर्को असन्तुष्टी जनाएका छन् उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो । तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टी जनाएका हुन् ।

नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल गर्न बिहीबार  कार्यपालिका बैठक बोलाइएको थियो । दिउँसो बोलाईको बैठक राति आठ बजेसम्म पनि सुरु हुन नसकेपछि सबै कार्यपालिका सदस्य घर फर्किएका थिए ।

राति ८ बजेसम्म कार्यपालिका सदस्य नगर प्रमुख पौडेललाई पर्खिएर बसेका थिए । आफ्नो कार्यकक्षमा बसेर नगर प्रमुख पौडेल सभाहलमा गएनन् । नगर प्रमुख छलफलका लागि नआएपछि कार्यपालिका सदस्य घर फर्किएका थिए ।

कार्यपालिका सदस्य घर फकिएको केही समयपछि नगर सभामा उपस्थित हुन मोबाईल म्यासेजमार्फत सबै नगर सभा सदस्यलाई खबर गरिएको थियो । बैठकका लागि रातिसम्म उपमहानगरपालिकामा पर्खिएर बसेका कार्यपालिका सदस्य अचानक नगर सभाको खबर आएपछि अचम्मित बनेका थिए ।

‘सभामा जानुअघि नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल हुनुपर्छ भनेर सबै कार्यपालिका सदस्यले भन्दै आएका थियौ’ वडा नं। १ का अध्यक्ष हिराबहादुर गुरुङले भने ‘त्यसैले हामी रातिसम्म भएपनि छलफलका लागि पर्खियौ । तर, मेयरसाप सभाहलमा नआएपछि हामी फर्कियौ र फर्किएको केही समयपछि मोबाईलमा म्यासेज आयो ।’

कार्यपालिकामा छलफल गरेर मात्रै नगर सभामा जाने सहमति भएता पनि व्यवहारमा त्यस्तो नदेखिएपछि सबै वडाध्यक्ष र कार्यपालिका सदस्यले त्यसको विरोध गरेको गुरुङले बताए । ‘सभामा जानुअघि निति तथा कार्यक्रम छलफल हुनुपर्छ भनेका थियौं । केही कुरा छुटेका भए थप्नुपर्छ भन्ने हाम्रो भनाई हो’ गुरुङले भने । 

\"\"

Logo