माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई

माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकाले सन्यास लिएर बस्न उपयुक्त हुने बताए । केही दिनअघि अध्यक्ष नेपालले कथित् १० भाइ एमालेको दास भएको र आफुहरुविरुद्ध नकारात्मक बनेको भाषण गरेका थिए ।

अध्यक्ष नेपालको सोही भनाइलाई लक्षित गर्दै भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको दाबी गरे । आफुले गरेका गल्तीहरुलाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिँदै सांसद भट्टराईले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने चेतावनी दिए । 

सांसद भट्टराईले भने, ‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु । उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् । माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताउँदै एमालेसँग एकताका लागि सर्त राख्नुको कुनै तुक नभएको स्पष्ट पारे । 

सांसद भट्टराईले भने, ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ ।’

Logo