नेपाल–चीन जोड्ने रेलमार्गको अध्ययन सुरुदेखि कोरोना रोकथाममा भइरहेको कामबारे सांसदले अनुगमन गर्नेसम्म (भिडियोसहित)

नेपाल–चीन जोड्ने रेलमार्गको अध्ययन सुरुदेखि कोरोना रोकथाममा भइरहेको कामबारे सांसदले अनुगमन गर्नेसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोभिड–१९ का कारण काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको मोडालिटीबारे छलफल सुरु भएको छ । एक साताका लागि थप गरिएको निषेधाज्ञाको अवधि पूरा हुन थालेसँगै नयाँ मोडालिटीबारे छलफल सुरु भएको हो ।

पछिल्लो समय देशभर सुरक्षा निकायका पदाधिकारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । देशभर अहिलेसम्म करिब २५ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

त्यस्तैगरी अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्ड सहरमा भएको हिन्सात्मक झडपको विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडन बीच चर्को आरोप–प्रत्यारोप चलेको छ । राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्रेटिक मेयर टेड विलरले ‘सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको’ आरोप लगाएका छन् । तर, डेमोक्रेटिक उमेदवार बाइडनले भने राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसा उकासेको’ र अमेरिकामा ‘घृणा र विभाजनको आगो फुकेको’ आरोप लगाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रिय सभा सांसद रहने समितिले कोरोनाबारे भइरहेका काम सम्बन्धी अनुगमन गर्न सक्ने निर्णय गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo