पदाधिकारी सहितका कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने दाहालकाे तयारी

पदाधिकारी सहितका कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने दाहालकाे तयारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन ।

बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताए ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिएको थियो । सोही पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप समस्या पैदा भएको छ । चुनाव गरेपनि आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बैठकमै राखेका छन् । यस्तै महराले आफू महासचिव नहुने हो भने वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् । 

यस्तै महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दावेदार रहेका छन् भने पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेत समेत आकांक्षी छन् । 

यसैगरी कोषाध्यक्ष र उपमहासचिवमा को–को बस्ने भन्नेमा पनि अन्योलता भएको एक नेताले बताए । सबै पदाधिकारीका इच्छुक नेताहरुसँग प्रचण्डले मंगलबार बेलुकासम्म परामर्श गरेर बुधबार बैठकमा प्रस्ताव गर्ने बताइएको छ । 

केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर प्रचण्डले बुधबार बैठक समापन गर्ने भएका छन् । यदि पदाधिकारी सहमति नभएमा चुनाव गर्नेसम्मको मनस्थितिमा प्रचण्ड पुगेको बताइएको छ । 

Logo