केन्द्रीय समिति बैठकमा देउवाको आक्रोश : असहयोग जारी रहे तेस्रो पटक पनि सभापति बन्छु

केन्द्रीय समिति बैठकमा देउवाको आक्रोश : असहयोग जारी रहे तेस्रो पटक पनि सभापति बन्छु

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइराला पक्षमाथि खनिएका छन् ।

उनले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् । काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोखे ।  भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उनले सुझाव दिए । 
‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ’, देउवाले भने । उनले आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताए । 

बैठकमा बोल्दै कोइराला पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गर्दा पार्टी हार्ने धारणा राखेपछि देउवा कड्किएका थिए । ‘ गठबन्धन बने केही उम्मेदवारले जित्लान् तर पार्टी हार्छ’ गौतमको भनाइ थियो, ‘ चुनावमा गठबन्धन नगरी पार्टी लड्नुपर्छ ।’ गौतमको भनाइ प्रतिवाद गर्दै  देउवाले गठबन्धन नभई पार्टीले कसरी जित्छ भन्दै प्रतिवाद गरेका थिए । ‘ तपाईँ आफू जित्नका लागि गठबन्धन चाहिएको छ  । तपाईँ गठबन्धन नगरी चुनाव जित्न सक्नुहुन्छ ?’, देउवाको आक्रोश थियो । 

सोमबारदेखि जारी बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आजको बैठक बिहीबार पुनः बस्नेगरी स्थगित भएको छ ।  

Logo