राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीको नाम दुरुपयोग गरेर भेला, बैठक भइरहेको भन्दै आपत्ति जनाएको छ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही मा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केही व्यक्ति राप्रपाको बृहत्तर हित र एकतामा आँच आउने गतिविधिमा संलग्न रहेको ठहर गरेको हो।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुशासनहीन गतिविधिलाई पार्टीले कुनै हालतमा छुट दिने छैन। पार्टीको हितविपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।’ राप्रपाले उक्त गतिविधिमा दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ संलग्न भएको आरोप लगाएको छ।
राप्रपाको नेतृत्व पंक्तिमा आन्तरिक विवाद भएको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शृंखलाबद्ध तरिकाले प्रचारप्रसार भइरहेको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘पार्टीको नेतृत्व पंक्ति पूर्ण रूपले एकताबद्ध रहेको प्रस्ट पार्दछौं’, राप्रपाको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको हितविपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमका गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्नरनगराउन पार्टीका सबै तहलाई बैठकले आग्रह गरेको छ। यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरिएको छ।’
यस्तै राप्रपाको बैठकले यही असार २६ गते राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सम्बद्ध महिलाबीच उत्पन्न विवाद र विवादमा पार्टीका महामन्त्रीद्वय कुन्तिकुमारी शाही र राजेन्द्र गुरुङसमेतको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विशेषगरी महामन्त्री कुन्तिकुमारी शाहीको चरित्र हत्या हुनेगरी समाचार आएको भन्दै खण्डन पनि गरेको छ।































प्रतिक्रिया