सिन्धुलीमा बमसहित चन्द समूहका कार्यकर्ता पक्राउ

सिन्धुलीमा बमसहित चन्द समूहका कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिन्धुली ।

जिल्ला प्रहरी कार्यालयले शनिबार नेत्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

तीनपाटन गाउँपालिकाको वडा नं ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिई झण्डै दुई घण्टा हिँडाइ लायोगाउँसम्म पुर्याएको पाइएको उनले बताए । चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त्रणमुक्त गरिएको उनले जानकारी दिए।

बिहान ९ः३० बजेको समयमा चन्द समूहका कार्यकर्ताले नियन्त्रणमा लिएकामा दिउसो १ बजे शिक्षक भण्डारी चन्द समूहका कार्यकर्ताबाट नियन्त्रणमुक्त भएको उनले जानकारी दिए। बिहानै नियन्त्रणमा लिएको भए पनि प्रहरीलाई बिहान ११ बजे जानकारी आएको र प्रहरीले खोजी गर्दा लायोगाउँबाट शिक्षकलाई छुटाउन सफल भएको उनको भनाइ छ ।

स्थानीयवासी र प्रहरीले शिक्षक भण्डारीलाई खोज्न थालेको खबर चन्द समूहका कार्यकर्ताले थाहा पाए लगत्तै शिक्षक भण्डारीलाई तीनपाटन गाउँपालिकाको वडा नं ८ लायोगाउँमा छाडेर उनीहरु फरार भएको उनले जानकारी दिए। उक्त घटनामा संलग्न महिला कार्यकर्तालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दैगर्दा चन्द समूहको अपहरणमा परेका शिक्षक भण्डारी पनि जिल्ला प्रहरी कार्यालयमा नै रहेका छन् । उनलाई के कारणले नियन्त्रणमा लिएका हुन् भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।रासस

Skip This
Skip This
Logo