ओली समूहसँग सहकार्य नगर्न देउवामाथि कांग्रेस केन्द्रीय सदस्यहरूकाे दबाब

ओली समूहसँग सहकार्य नगर्न देउवामाथि कांग्रेस केन्द्रीय सदस्यहरूकाे दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न सम्बन्धित प्रदेशका कांग्रेस केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाब दिएका छन् । केन्द्रीय सदस्यले कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न नहुनेमा जोड दिए ।

बुधबार प्रदेश १ का विषयमा छलफल गरेका देउवाले शुक्रबार बागमती प्रदेशको सत्तासमीकरणबारे त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेका छन् । तर, संसद् विघटनपछि प्रदेश सरकारको सत्तासमीकरणलाई लिएर कांग्रेसले निर्णय लिन सकेको छैन । दुवैतर्फ संवादमा रहेको कांग्रेस अझै ‘पर्ख र हेर’को रणनीतिमा छ ।

बुढानीलकण्ठस्थित देउवानिवासमा शुक्रबार भएको छलफलमा देउवाले ओली समूहसँग गठबन्धन गर्नुपर्ने संकेत गरे । तर, देउवाले आफ्नो धारणा अझै प्रस्ट रूपमा राखेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न नहुने स्पष्ट अडानमा उभिएको छ । पार्टीभित्र देउवानिकटकै र इतर समूहका केन्द्रीय सदस्य ओली समूहसँग सहकार्य गर्न नहुने अडानमा छन् ।

देउवाले बैठकको सुरुमै ओली समूहसँग मिल्ने आशय व्यक्त गरेका थिए । ‘दुईमध्ये एक प्रदेशमा मुख्यमन्त्री दिन ओली समूह तयार छ, यदि त्यस्तो प्रस्ताव हो भने हामी किन नजाने ?’ देउवाले भनेका थिए । देउवा शुक्रबारै ओली समूहसँग मिलेर अघि बढ्ने निर्णय गराउन चाहन्थे । त्यसका लागि छलफल गरेर निर्णय गर्ने अधिकार प्रदेश सभाको संसदीय दललाई दिनुपर्ने प्रस्ताव देउवाको थियो । तर, पौडेल समूहका नेताहरूले प्रचण्ड–नेपाल समूह पनि दुईमध्ये एक मुख्यमन्त्री दिन तयार रहेको भन्ने सुनाएपछि देउवा त्यो तर्कबाट पछि हटेका थिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली समूहसँग सहकार्य गर्न नसकिने भनेका थिए । ‘हामी विपक्षी दल हौँ, अहिले ओली सरकारका विरुद्ध सडकमा छौँ, त्यसैले ओलीको पक्षमा लाग्ने कुरै नगरौँ,’ पौडेलले भनेका थिए । सबै प्रदेशमा लागू हुने गरी केन्द्रीय समितिले नै एउटा नीति तयार गरेर अघि बढ्नुपर्ने पौडेलको भनाइ थियो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले ओलीसँग सहकार्य गर्न नहुने भनेका थिए । ‘केन्द्रमा ओलीविरुद्ध आन्दोलन गर्ने, प्रदेशमा उसैसँग मिल्ने कुरा हुँदैन, नेकपा सत्ता चलाउन असक्षम भइसकेको छ, त्यसैले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्थामा मात्रै सहकार्य गर्न सकिन्छ,’ सिंहले भनेका थिए ।

केन्द्रीय सदस्य गगनकुमार थापा र नवीन्द्रराज जोशीले पनि केन्द्रीय समितिबाटै स्पष्ट नीति तयार गरी अघि बढ्नुपर्ने सुझाब दिएका थिए । ‘सभापतिज्यूको प्रस्ताव संसदीय दललाई जिम्मा दियौँ भन्ने थियो, हामीले पार्टीको लाइन क्लियर गर्नुपर्छ, एउटा निर्णय गरेर अघि बढ्नुपर्छ भन्यौँ, छलफल निष्कर्षमा पुगेको छैन,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने ।

प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भए पनि मतदानसम्मको प्रक्रियामा पुग्न समय लाग्ने देखिएपछि त्यतिन्जेलमा पार्टीको आधिकारिक धारणा तय गर्ने गरी छलफल भएको जोशीले बताए । ‘अहिले प्रदेशमा सांसदहरूसँग छलफल गरेर प्रदेशको राय बुझाउन संसदीय दलको नेतालाई खबर गर्ने कुरा भएको छ, त्यसपछि प्रदेशको रायसहित केन्द्रमा बैठक बसेर टुंग्याउने कुरा भएको छ,’ उनले भने ।नयाँ पत्रिकाबाट

Logo