चन्द्र नहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

चन्द्र नहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

केन्द्रबिन्दु
0
Shares

सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्र नहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो ।

अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको हो । नहर भत्किएर पानी बस्तीमा पस्दा वडा नम्बर ४ का विष्णु राई, राम बहादुर विष्ट, कालिमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, राम बहादुर बस्नेत लगायतका दर्जनौँ घर डुबानमा परी लाखौंको क्षति भएको स्थानीय गुणराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार घरहरूमा ६ फिटसम्म पानी जमेकोले सयौं मानिसहरू समस्यामा छन् । बाँध मर्मत सम्भारको कार्यमा चन्द्र नहर र नगरपालिकाले चासो नदिँदा डुबान क्षेत्रका बासिन्दाहरू सास्ती खेप्न बाध्य भएका हुन् । नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो बाढीपीडित राम बहादुर बस्नेतले भने, बाँध भत्किएर आएको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका सयौं घर डुबानमा परेको छ भने सयौं बिघा धान खेती जलमग्न भएको छ ।

गत शनिबारको वर्षाले सप्तकोसी नगरपालिकाका वडा न १ देखि ११ वटै वडा प्रभावित भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिए । वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कार्यालयका कागज पत्र भिजेर नष्ट भएको कार्यालय सहयोगी राजकुमार रामले बताए । बाढीले वडा कार्यालय अगाडि रहेको अग्रवाल स्टोरको गोदाममा लाखौं खाद्यान्न सामाग्री भिजेर क्षति भएको सञ्चालक मनोज अग्रवालले बताए ।

 

Logo