विवेकशील दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई राजनीतिक एजेण्डा बनाउने

विवेकशील दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई राजनीतिक एजेण्डा बनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विवेकशील नेपाली दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने भएको छ । बुधबार अनलाइनबाट नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गर्दै विवदेकशील दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने उल्लेख गरेको हो ।

विवेकशीलका अध्यक्ष मिलन पाण्डेले नयाँ राजनीतिक दस्तावेजनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री हुनुपर्ने उल्लेख गरेका छन् । प्रदेश सभामा बहुमत प्राप्त सदस्य मुख्यमन्त्री हुने व्यवस्था परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने पनि विवेकशीलको राजनीतिक दस्तावेजमा उल्लेख गरिएको छ । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय प्रणालीको वकालत गरिनेछ’–दलको राजनीतिक दस्तावेजमा भनिएको छ–‘राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुनेछन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बन्नेछ । प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहनेछन् ।’

त्यस्तै, वैकल्पिक राजनीतिक धार मानिएको विवेकशील दलले अब मूलधारको राजनीति सुरु गर्ने समेत उल्लेख गरेको छ । विवेकशीलको दस्तावेजमा भनिएको छ–‘विवेकशील नेपाली दल २१ औँ शताब्दीका नेपालीलाई प्रतिनिधित्व गरेर आम नागरिकको सपना साकार गर्न परिपक्व भएर आएको छ । आठ वर्षको वैकल्पिक अनुभवसँगै अब वैकल्पिक राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै छ ।’

त्यस्तैगरी युवाहरूलाई राजनीतिमा आकर्षित गर्न मतदान गर्ने उमेर पुगेको व्यक्ति जुनसुकै पदमा निर्वाचित हुन पाउने नीति अवलम्बन गर्नुपर्ने उक्त दलको माग छ । युवालाई राजनीतिको मूलधारमा ल्याउन १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको वकालत गरिने उल्लेख गरिएको छ । साथै विवेकशीलले ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ लाई दलको दर्शन मान्ने उल्लेख गरेको छ । सहभागितामुलक लोकतन्त्र, गतिशील मध्य–मार्ग, सामाजिक न्याय र दिगो–आत्मनिर्भर अर्थतन्त्रलाई चारखम्बे सिद्धान्त मान्ने पनि दस्तावेजमा उल्लेख छ ।

नेपाललाई विश्वमाझ ‘गुरु–राष्ट्र’ का रुपमा स्थापित गरिने लक्ष्य लिएको छ । त्यसका लागि नेपालको संघीयता, धर्म–निरपेक्षता र गणतन्त्रलाई थप मजबुत बनाउँदै अघि बढ्ने दस्तावेजमा उल्लेख गरिएको छ । छिमेकीहरूसँग सम–निकटताको सम्बन्ध राख्दै सम्पूर्ण राष्ट्रहरूसँग नेपालको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने पनि दलको दस्तावेजमा उल्लेख छ ।

Logo