कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग २०७७ फागुन २० मा गरेको सम्झौता अनुसार हालसम्म ५२३ मुद्दाहरु फर्स्योट भइसकेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेकोमा अहिले ८७ वटा मुद्दा फर्स्योटको क्रममा रहेको जानकारी दिए । मन्त्री कोईरालाले ६० जिल्लामा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दाहरु रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरुमा पनि ११९ मुददा फैसला भइसकेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए। उनले जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मुद्दाहरु रहेकोमा ५२३ मुद्दा फर्स्योट भएको र ८७ मुद्दा कार्यविधिगत कानूनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधिन रहेको उल्लेख गरे। उनले नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित झन्डै १५०-१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय गरिसकेको पनि बताए ।
महान्यायाधिवक्ता खातीले ऐन, कानूनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरु भने मन्त्रीपरिषद्बाट फिर्ता लिन नमिल्ने बताएका छन्। उनले फिर्ता लिने मुद्दाहरुमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्था रहेको जानकारी दिए । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रुपमा अघि बढेको उनको भनाई छ ।































प्रतिक्रिया