सत्य र असत्यबीचकाे विवाद पुरानै हाे त ?

संसारमा दुई प्रकारका धर्मबीच प्राचीनकालदेखि नै झगडा हुँदै आएको पाइन्छ । तीमध्ये एकले ईश्वरलाई निराकार मान्छन् भने अर्काथरिले साकार एवं निराकार दुवै रूपलाई मानेर ईश्वरको पूजा गर्छन् । एकले सूर्यको गतिमा आधारित आफ्नो नियम बनाउँछन् भने अर्काथरिले चन्द्रमाको गतिको आधारमा आफ्नो धार्मिक नियम बनाउँछन् । प्राचीन समयमा यी दुईथरीका मानिसहरू सुर र असुरका रूपमा चिनिन्थे जसलाई ठाउँअनुसार अन्यान्य नामले समेत चिनिन्थ्यो । समयसँगै यिनीहरूको नाम पनि परिवर्तन हुँदै आयो ।

एकथरि मानिस देवगुरु बृहस्पतिको मार्ग अर्थात् धर्म मान्छन् भने अर्काथरी दैत्यगुरु शुक्राचार्यको धर्म मान्दछन् । यी दुवैबाट वैष्णव एवं शैव धर्मको जन्म भयो । पछिपछि हुँदै जाँदा स्मार्त, शाक्त, नाथ, दसनामी, ब्रह्म, वीरशैव, लिंगायत आदि अनेकौं सम्प्रदायको जन्म भयो तर पनि यी सबै सनातन हिन्दू धर्मकै अंगका रूपमा चिनिन्छन् ।

जम्बूद्वीपको इलावर्त क्षेत्रमा देवता एवं असुरहरूबीच १२ पटक ठूला लडाइँ  भए । लडाइँमा देवताका पक्षबाट गन्धर्व, यक्ष तथा यदाकदा मानव पनि हुन्थे भने दैत्यहरूका तर्फबाट दानव एवं राक्षस हुन्थे । अन्तिम पटक हिरण्यकशिपुका पुत्र प्रह्लादका नाति बलिसँग इन्द्रको युद्ध भएको थियो । उक्त युद्धमा देवताहरूले हारे र सम्पूर्ण जम्बूद्वीपमा असुरहरूको शासन चलेको थियो । इलावर्त जम्बूद्वीपको केन्द्रमा थियो । पछि देवताका पक्षपाती विष्णुले वामन रूप धारण गरी राजा बलिसँग तीन पाइला जमिन मागे र असुरहरूको हातबाट सम्पूर्ण राज्य लिए । यसबाट देवताहरूलाई स्वर्ग प्राप्त भयो भने विष्णुले बलिलाई पातालको राजा बनाए । फलस्वरूप शुक्राचार्यलाई पनि बलिसँगै पाताल जानुपर्‍यो ।

देवताहरूको पक्ष

देवताहरूको धर्ममा मानिस सूर्यलाई प्रमुख देवता तथा आइतवार र विहिवारलाई  सबैभन्दा राम्रो दिन मान्दछन् । उनीहरूका अनुसार हरेक धर्मकर्म शुक्लपक्षका दिन गर्नु राम्रो मानिन्छ । उत्तरायणको सुरुवातसँगै देवताहरू जाग्रत हुन्छन् भने दक्षिणायनमा देवताहरू सुषुप्त हुन्छन् । यसकारण हरेक शुभ एवं मंगलकार्य उत्तरायणकै समयमा गर्नु राम्रो मान्छन् । उनीहरू चन्द्रमास अनुसारको हरिशयनी तथा हरिबोधिनी एकादशीलाई भने पवित्र, शुभ एवं महत्वपूर्ण मान्दछन् ।

कार्तिक महिना सबैभन्दा उत्तम तथा एकादशीको व्रत सबैभन्दा राम्रो हुने मान्यता राख्छन् । शाकाहारी भोजन ग्रहण गर्छन् भने चातुर्मास व्रत लिन्छन् । देवधर्मका मानिस रातको समयमा कुनै पनि मांगलिक कार्य गर्दैनन् । रातको समयमा कुनै पनि देवताको पूजा वा आराधना गर्दैनन् । उनीहरू केवल सन्ध्यावादन गर्दछन् । प्रातः तथा सायं सन्ध्या प्रमुख मानिन्छन् । उनीहरू ऋग्वेद तथा यजुर्वेदाध्यायी हुन्छन् । उनीहरूको प्रमुख मन्त्र गायत्री हो भने प्रधान देवता विष्णु हुन् ।

देवधर्मीहरूका प्रमुख देवता इन्द्र, धाता, पर्जन्य, त्वष्टा, पूषा, अर्यमा, भग, विवस्वान्, विष्णु, अंशुमान, मित्र, आप, ध्रुव, सोम, धर, अनिल, अनल, प्रत्युष, प्रभाष, अश्विनीकुमार आदि हुन् ।

देवताहरूका गुरु तथा पुरोहित बृहस्पति हुन् । उनी महषिर् अंगिराका पुत्र हुन् । बृहस्पतिको जन्मको प्रसंग पनि रोचक छ । महषिर् अंगिराकी पत्नी आफ्नै कर्म दोषका कारण मृत शिशु जन्माउँथिन् । ब्रह्माले उनलाई पुंसवन व्रत गर्न अर्‍हाए । उनले सनत्कुमारबाट व्रतविधि सिकेर उक्त व्रत गरिन् । उक्त व्रतका कारणले भगवान् विष्णु प्रसन्न भए र उनको कृपाबाट महषि पत्नीले प्रतिभासम्पन्न बृहस्पतिलाई पुत्र रूपमा प्राप्त गरिन् ।

बृहस्पतिका पुत्र कचले शुक्राचार्यसँग सञ्जीवनी विद्या सिके । देवगुरु बृहस्पतिका तीनजना पत्नी थिए- शुभा, तारा र ममता । शुभाबाट ७ जना छोरी जन्मिए । ताराले ७ जना छोरा र एक छोरी जन्माइन् । ममताबाट दुई छोरा भरद्वाज र कच जन्मिए । बृहस्पतिका सबै छोराछोरीहरूका विषयमा पुराणमा थुप्रै कथा पाइन्छ । बृहस्पतिका अधिदेवता इन्द्र हुन् भने प्रत्यधिदेवता ब्रह्मा हुन् । बृहस्पति भगवान् विष्णुका भक्त भए पनि उनी ब्रह्मवादी हुन् ।

असुरहरूको पक्ष

असुर वा दैत्यहरूको धर्ममा मानिस चन्द्रमालाई प्रमुख देवता तथा सोमबार र शुक्रबारलाई सर्वश्रेष्ठ दिन मान्छन् । उनीहरू हरेक धार्मिक कार्य चन्द्रमासको आधारमा हुने गर्छ । उनीहरू रात्रि उत्सव वा रातको समयमा चाडपर्व मनाउँछन् । रातमा गरिने कर्मकाण्डलाई विश्वास गर्छन् । उनीहरूमध्ये केही एकेश्वरवादी हुन्छन् र निराकार ईश्वरलाई मान्दछन् भने धेरैले थरीथरीका स्थानीय देवीदेवताको पूजाआराधना गर्दछन् । उनीहरू सामवेद तथा अथर्ववेदाध्यायी हुन्छन् । उनीहरूको प्रमुख मन्त्र महामृत्युञ्जय मन्त्र हो भने प्रधान देवता शिव हुन् ।

साउन महिना सबैभन्दा उत्तम तथा द्वितीया, चतुर्थी एवं प्रदोष व्रतलाई राम्रो मान्दछन् । मांसाहार गर्नमा वाधा देख्दैनन् । दैत्य वा असुरअन्तर्गत नै दानव तथा राक्षसहरू पनि पर्दछन् । पुराणअनुसार भगवान् शिवले नै अनाथ राक्षस सुकेशलाई पालनपोषण गरेका थिए जसको कुलमा पछि रावण जन्मिएका थिए ।

दैत्यहरूका गुरु तथा पुरोहित शुक्राचार्य हुन् । उनलाई उशना पनि भनिन्छ । शुक्राचार्य शिवका परम भक्त थिए र उनैका कृपाले मृतसञ्जीवनी विद्या प्राप्त गरेका थिए । शुक्राचार्य महर्षि भृगुका पुत्र हुन् । शुक्राचार्यका छोरीको नाम देवयानी हो भने शण्ड र अमर्क उनका छोरा हुन् । शुक्राचार्य शुक्र नीतिका प्रवर्तक हुन् । अहिलेसम्म पनि शुक्रनीति महत्वपूर्ण मानिन्छ । शुक्राचार्यका छोराहरू शण्ढ एवं अमर्कले हिरण्यकशिपुको दरबारमा नीतिशास्त्र पढाउँथे । शुक्रले पहिले अंगिरस ऋषिसँग शिष्यत्व ग्रहण गरी अध्ययन सुरु गरेका थिए पछि जब अंगिरसले आफ्नो छोरा र शिष्यका बीच पक्षपात देखाउन थाले अनि शुक्रले पनि उनलाई छाडेर भगवान् शिवको आराधना गर्न थाले । शुक्राचार्यकै सञ्जीवनी विद्याको बल पाएर असुरहरूले अनेकौं देवासुर संग्राममा विजय प्राप्त गरेका थिए ।

वर्तमान समयमा देव तथा असुर धर्मबीच सम्मिश्रण भएको देखिन्छ । दुवै पक्षका धार्मिक क्रियाकलाप मानिसहरूले उत्तिकै श्रद्धाका साथ ग्रहण गरिरहेका छन् । सत्य र असत्यका बीच भिन्नता छुट्याउने काम पनि मानिसले स्वयंकाे विवेकअनुसार गरिरहेका छन् ।