संसदमा पुडासैनी र रवि लामिछाने प्रकरण उठ्यो, अधिकांश सांसद रविको विरुद्धमा

काठमाडौं,

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र प्रस्तोता रवी लामिछानेको गिरफ्तारीको विषय संसदमा प्रवेश गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना सांसदले यो विषयलाई प्रतिनिधिसभाको आइतबारको बैठकमा उठाएका हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारवाही र समसामयिक विषयमा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनपछि शून्य समयमा बोल्दै तत्कालिन माओवादी केन्द्रबाट बाँकेबाट निर्वाचित सांसद महेश्वरजंग गहतराजले रवी लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत भन्दै निन्दा र भत्सर्ना गरे ।

‘पुडासैनीको आत्महत्या प्रकरण र सोको अनुसन्धानका लागि रवी लामिछानेलाई गिरफ्तार घटनालाई लिएर के निहुँ पाउँ, कनिका बिकाउँ भन्ने उखानलाई चरितार्थ गर्दै गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ । म त्यसको निन्दा र भत्सर्ना गर्दछु’, उनले भने ।

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि, क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा, सुशासनका विरुद्ध भएको जिकिर गरे ।

‘मेरो मान्छे, मेरो मन परेको मान्छे, सुनपानीको चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ ?’ उनले प्रश्न गरे, ‘यसले अपराधलाई दुरुत्साहित होइन प्रोत्साहित गर्छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गर्दछु ।’

पूर्वएमालेबाट तर्फबाट ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञ सुनुवारले भने पुडासैनी आत्महत्या प्रकरण र रवी लामिछानेको अभियोगबारे जनतालाई जानकारी गराउन सरकारसँग माग गरे । ‘सत्य तथ्य छानविन गरी सरकारले जनतालाई जानकारी गराओस् । कोही पनि अपराधी नउम्किउन् । निरअपराधी गिरफ्तारीमा नपरुन् वा सजायँ नहोस्, यसतर्फ सरकार सचेत बनोस्’, उनले भने । पुडासैनीका परिवारले न्याय पाउनुपर्ने भन्दै सांसद सुनुवारले त्यसका लागि कुनै निरअपराधीलाई फसाउन नहुने जिकिर गरे । रवी लामिछानेको गिरफ्तारीपछि चितवनमा उनको समर्थनमा प्रदर्शन भइरहेका छन् ।
नागरिकबाट