शिक्षा विधेयक चाँडै संसदमा : शिक्षामन्त्री

काठमाडौँ,

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा नीतिका आधारमा चाँडै नै शिक्षा सम्बन्धी विधेयक संसदमा पेस हुने बताउनु भएको छ ।

प्रतिनिधि सभामा सांसदहरूका प्रश्नमा जवाफ दिँदै मन्त्री पोखरेलले सङ्घीय शिक्षासँगै उच्च शिक्षा र प्राविधिक शिक्षा सम्बन्धी विधेयक ल्याइने जानकारी दिनु भएको हो । नेपाली काँग्रेसका सांसद गगन थापाले सङ्घीय शिक्षा विधेयकमा सरकारको तयारीबारे प्रश्न गर्नुभएको थियो । मन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार सङ्घीय शिक्षा विधेयक केन्द्र सरकारकै दायित्व भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऐन बन्न नसक्दा केही अप्ठ्यारा भएका छन् ।  स्थानीय सरकार आफैँले कार्यविधि बनाएर पनि अगाडि बढ्न सक्छन् । अब नीतिका आधारमा दुईवटा ऐन चाँडै ल्याउँछौँ । उच्च शिक्षा र प्राविधिक शिक्षा सम्बन्धी विधेयक पनि हामी चाँडै संसद्मा ल्याउँछौँ । ”

सङ्घीय शिक्षा ऐन कार्यान्वयनमा आएपछि स्थानीय स्तरसम्म देखिएका धेरै दुविधाको अन्त्य हुने उहाँको भनाइ छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था राज्यले गरेकोतर्फ स्मरण गराउँदै उहाँले यसको दायित्व स्थानीय सरकारमा रहेको पनि बताउनुभयो ।
गोरखापत्रबाट