मोहनविक्रमले आफ्नै मामालाई पार्टीबाट निष्काशन गरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको मुखपत्रको रुपमा रहेको हाँक साप्ताहिकका विषयमा भएको विवादपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरेको हो ।

यही भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निष्कासन गरेको पार्टीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । महामन्त्री सिंहले आफ्नै मामाविरुद्ध गरेको कारवाहीलाई लिएर पार्टीभित्र अनुशासनको विषयले चर्चा पाएको छ ।

गुल्मी पुख्र्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा थिए । हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । मसालको मुखपत्र मानिने सो पत्रिका थापाको नाममा दर्ता थियो ।

पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र हाँक थापाका नाममा दर्ता गरिएको हुनाले नामसारी गरिदिन पार्टीले गरेको आग्रह थापाले नमानेको आरोप लगाउँदै उनलाई कारवाही गरिएको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख छ । यसअघि गायक जीवन शर्मालाई पार्टीले कारवाही गरेको थियो ।