‘स्याड फादर्स डे’
  • संगीता आचार्य ।

सधैं सात बजे त्यो पनि कलेज र अफिस जानैपर्ने भएकाले कर गरीगरी उठ्ने म आज खै किनअँध्यारोमा नै आँखा खुले, फेरि निदाउन कोशिस गरेँ आखा पटक्कै जोडिएनन् । कति बजेछ भन्दै मोबाइल हेर्न मन लाग्यो, मोबाइल अनलक गर्ने बित्तिकै समयभन्दा पहिले मेरा आखा हाम्रो पात्रोको नोटीफिकेसनमा पर्यो । शुक्रबार भदौ १३ । बुबाको मुख हेर्ने दिन/मोतीजयन्ती/विश्व बेपत्ता दिवस ।

मन चसक्क भयो बल्ल मलाई चाल भयो किन आज छिट्टै आखा खुलेकारहेछन् । यो समयमा चार बजेको छ, विगतका वर्षहरूमा चार बजेनै ड्याडीलाई फोन गरेर उताबाट हेलो शब्द नआउदै मैले ह्याप्पी फदर्स डे ड्याडी भन्दा ड्याडीले ओहो आज भदौ कृष्ण औंसी पो हो ? एकछिन फोन राख त सानु म तिमीलाई मुख देखाउँछु भन्दै फोन काटियो अनि म्यासेन्जरमा भिडियो कल आएको संकेतको घण्टी बज्यो, ल अब मुख हेर अनि अघि भनेको कुरा फेरि भन । ड्याडीको मुख हेर्दै फेरि मैलै अघिकै शब्दहरू दोहोर्‍याउँदै भनेकी थिएँ–ह्याप्पी फादर्स डे ड्याडी आइ लभ यु ! थ्याङक्यु सो मच छोरी । उताबाट हर्षित र केही मलिन स्वरमा बोल्नुभकोथ्यो ड्याडी ।

सिरानी नजिकै राखेको ड्याडीको फोटोमा आखा गए, जसमा अलिकति पहेंलो टीका र सुकिसकेको फूलको माला लगाइएको छ र शिरमा हार्दिक श्रद्धान्जली, पुछारमा दाहिनेतिर जन्म मिति २०३०/१०/१७ र देब्रेतिर लेखिएको छ मृत्यु २०७५/११/१८। आँखा धमिला भए । फोटो उठाएँ र अलिअलि लागेको धुलो पुछ्दै भक्कानिएँ । अर्को कोठामा आवाज जाला भन्दै हातले मुख छोप्दै रोएँ । जतिगरे पनि आँसु रोकिनै मानेनन्, मन दुखिरह्यो । ड्याडीसँगका अनेकन रमाइला क्षणहरू आँखाभरि नाचिरहे ।

पोहोर साल आजकै दिन बिहानै फोन गरेर फादर्स डेको कुरा सकिएपछि मैले ड्याडी हजुरलाई के गिफ्ट चाहियो भनीसोध्दा उहाँले अलि गम्भीर हुँदै, सबै छोराछोरी कमसेकम आजको दिन मसँगै भइदिएको भए मलाई केही चाहिँदैनथ्यो । तिमीहरूको कुनै उपहारले सँगै नहुँदाको भर्पाइ गर्न सक्दैन । सानु, भो मलाई केही चाहिँदैन । बरु छिट्टै घर आऊ । अब मैले ड्याडीको गम्भीरता चिर्नु थियो । ल म एकजना नभएर के भो त दाइभाइ सँगै छन्, अनि दिदी पनि त एकछिनमा आइहाल्छे । किन नराम्रो मान्नुपर्‍यो । अँ… बरु मेरो दक्षिणाचाहिँ आईएमई गर्दिनु नि फेरि, बल्ल मेरो प्रयास सफल भयो ड्याडी थोरै भएपनि मुस्काउनुभयो । सानु दाजुभाइ र दिदी त छन् तर तिमी मात्रै मसँग छैनौ ।

ड्याडी हजुरलेनै होइन दुःखपछिको सुख अनि विछोडपछिको मिलन रमाइलो र आनन्ददायी हुन्छ भनेको ? अनि आज फेरि किन यस्तो कुरा गर्नुभको? ड्याडीलाई कतै अन्तर्आत्मामा थियो कि यो फादर्स डे मेरालागि अन्तिम हो र अन्तिमपटकको फादर्स डेमा सबै छोराछोरी आफूसँगै होऊन् । मलाई भने यस्तो होला भन्ने एक मन पनि थिएन । होस् पनि कसरी ? भर्खर पैंतालीस वर्षको एकदमै हट्टाकट्ठा निरोगी मेरो ड्याडीको हत्या गरिदिएको थियो पापीले ।

हाम्रो सुन्दर घरसंसार उजाडियो । क्षणभरमै संसार रित्तोरित्तो भो, हामीमाथिको आकाश कहिल्यै सूर्य नउदाउने गरी अँध्यारियो । मम्मीको सिउँदोको सिन्दुरसँगै जीवनसाथीका साथ देखेका सपनाहरू पखालिएर सबै इच्छाआकाङ्क्षा झर्‍यामझुरुम फुटे नारीका चुराजस्तै । हामी चारजनना भाइबहिनीको शिरबाट ड्याडीको छाया पलभरमै हटेर गयो ।दैव लाग्यो त के भन्नु दुश्मनको कुदृष्टि पर्‍यो हामीमाथि । सहनै नसकिने पीडा भयो । २०७५ फागुन १८ गतेको रात विरेन्द्रनगर ६ बुद्धपथमा मेरो ड्याडीलाई कसैले एकदमै निर्ममतापूर्वक हत्या गरी फलिदियो । उसले ड्याडीको शरीरमात्र मारेर फालेको थिएन हाम्रो खुसी सपना र सिंगो संसार नै मारेको थियो ।

पोहोर सालको फादर्स डेमा ड्याडीले केही चाहिँदैन भन्दाभन्दै मैले जिद्दी गरेकी थिएँ । अनि मेरो जिद्दीका अगाडि हारेर ल ल बाबा जे ल्याइदिएपनि छोरीले ल्याइदिएको मेरा लागि अमूल्य र प्रिय हुनेछभन्नुभएको थियो । यो भएनि हुन्छ ड्याडी भन्दै हाफ कोट देखाएकी थिएँ । ड्याडीले आँखालाई अलि ठूलो पार्दै भन्नुभको थियो-कसले भन्यो मलाई मोदीकोट लाउन मन थियो भनेर, पक्कै मम्मीले भनि होला हैन ? भारतको प्रधानमन्त्रीनरेन्द्रमोदीले धेरै लगाउने त्यस्तो कोटलाई ड्याडीले मोदीकोट भन्नुहुन्थ्योे ।

मैले भनिहालेकी थिएँ, होइनहोइन हजुरले एकपटक भन्नुभाथ्यो नरेन्द्र मोदीलाई त्यो हाफकोट कस्तो सुहाउँछ भनेर अनि मैले त्यहीबेला बुझिसकेकी थिएँ हजुरलाई यो कोट लगाउन मन छ तर छोराछोरीको आवश्यकता र सपना पूरा गर्न दिनरात मेहेनत गर्दापनि टाउकोभरि ऋणको थुप्रो छ अनि आफूलाई मनपरेको खानुहुन्न, लाउनुहुन्न । त्यही भएर मैले नै किन्दिएँ ड्याडी, मन पर्‍यो हजुरलाई ? यति बोलिरहँदासम्म मैले उहाँको अनुहारतिर हेरेकी थिइन,ड्याडी त रोरहनुभएको पो रहेछ । मलाई नरमाइलो लाग्यो आफैंदेखि रिस उठ्यो ।

किन भन्न परेको हुँदो हो यति । सीधै मलाई मनपर्‍यो, हजुरलाई सुहाउँछ जस्तो लाग्यो अनि किनेँ भनेकी भए भैहाल्थ्यो नि जस्तो लाग्यो । अब बोलिसकेकी थिएँ। अबको मेरो काम ड्याडीको अनुहारमा खुसीसहितको मुस्कान ल्याउनुथियो । म बोलिहालेँयति नराम्रो भो है मेरो गिफ्ट रुनैपर्ने । ठीकै छ, भोलि गएर फिर्ता गरिदिन्छु । मेरो अन्तिम शब्द नसकिँदै ड्याडीले होइन सानु, मलाई एकदम मनपर्‍यो छोरीको ऋण लाग्यो । मैले कैले तिर्न सकुँला। उहाँको यो छोरीको ऋणलाग्यो भन्ने शब्दले मुटुमा चिसो पसेको थियो । मैले रिसाएको लवजमा भनेकी थिएँ ।

छोराले जे गरे नि ऋण नलाग्नी अनि छोरीलाई किन यस्तो ? मैले सानोतिनो जागिर गरेकी छु मम्मी र हजुरलाई बर्षमा एकजोर लुगा फेरिदिनेसम्म हजुरको साथ र मेरो मेहेनतले भएकी छु ड्याडी । अनि किन मैले यति गर्दैमा हजुरहरूलाई पापी र ऋणी बनाउनुपर्ने?ड्याडी पढेलेखेको, छोराछोरीमा विभेद नगर्ने भए पनि कहिलेकाहीं उहाँको धार्मिक संस्कार पनि बाहिर आउँथ्यो ।

दशैंमा घर गएँ । सबैभन्दा पहिले ड्याडीलाई मोदीकोट लगाउन दिएँ ।साँच्चै त्यो कोट उहाँलाई एकदम सुहाएको थियो । दशैंको दिन बिहानैदेखि त्यो कोट लगाएर हिँड्नुभएको थियो र कसैले कोटको तारीफ गर्दा छोरीले काठमाडौंबाट ल्याइदिएकी भन्नुहुन्थ्यो । हामीले थुप्रै फोटाहरू पनि खिचेका थियौं, जुन मेरो फेसबुक र फोटा ग्यालेरीभरि छन् ।

दशैंकै दिन साँझपख ड्याडीले सानु यो फादर्स डेमा कोट ल्यायौ, अब अर्कोचोटि भने तिम्रो डिग्रीको सर्टीफिकेट होस् म त्यसलाई फ्रेम गरेर आफू सुत्ने सिरान नजिकै राख्छु । मेरो पढ्ने सपना हुँदाहुँदै सात कक्षामा पढ्दैगर्दा चौध वर्षको उमेरमै बुबाले बिहे गराइदिनुभयो । त्यसपछि पनि तिम्रो मम्मीले जेनतेन आफूले घरमा काम गरेर १२ सम्म त पढाइन् तर त्यतिबेलासम्म म दुई सन्तानको बाबु बनिसकेको थिएँ ।घरपरिवारको जिम्मेवारीमा बाँधिएपछि पढाइ रोक्नुपरेको थियो । आफ्नोजस्तो दुःख तिमीहरूलाई नहोस् भन्नका लागियति लागिपरेको छु । मेरो यो दुख बुझ्ने अब तिमीमात्र छौ ।दिदीको आठमा पढ्दैगर्दा बिहे भएको थियो । दाजुभाइले १२-१२ पढेर अगाडि पढन मन गरेनन् ।

छोराछोरीको पढाइको कुराले सधैं पिरोल्थ्यो ड्याडीलाई । उहाँको सपना पूरा गर्ने जिम्मा मेरै काँधमा थियो । म खुसी पनि थिएँ यो कुरामा । कहिलेकाही जिम्मेवारी पूरा गर्न नसकुँलाकि भन्नेडर पनि लाग्थ्यो । मेरो टोलको पहिलोपटक पढ्नकै लागी बाहिर निस्कने र मास्टर्स गर्ने पहिलो छोरी म नै थिएँ, ड्याडीकै सहयोगमा म अगाडि बढिरहेकी थिएँ । गाउँले र आफन्तले छोरी बिगार्नेभो आचार्य साइँलोले भन्थे रे । अहिले टाउकोमा टेकाएको छ पछि बिग्रिएपछि थाहा पाउँछ भन्थेरे । तर कसैको कुनै किसिमका कुराको परवाह थिएन उहाँलाई । परवाह थियो त केवल मेरो पढाइको ।

ड्याडी म फेल हुन्छु जस्तो छ मेरो परीक्षा बिग्रिएको छ भन्दा कति सहजै भन्नुहुन्थ्यो के भो त, घाँस काट्ने तिम्रो मम्मीलाई कहिलेकाहीँ झुक्किएर हात काट्छ तर ऊ कहिल्यै फेल हुन्न भन्नुहुन्थ्यो । घुमाउरो पाराले पढ्ने मान्छे कहिलेकाहीं असफल हुनसक्छ पीर नगर मेहेनत गर पक्कै सफल हुन्छौ भन्नखोज्नुभएको थियो । उहाँको यही आत्मविश्वास र आफ्नो मेहेनतले गर्दा नत म कहिल्यै पढाइमा असफल भएँ नत जिन्दगीमा । तर अब मेरो प्रेरणाको स्रोत नैरहनुभएन ।

यो वर्ष फोन गर्न र गिफ्ट दिनका लागि मेरो ड्याडी यो संसारमै हुनुहुन्न । केही महिनामा ड्याडीले देखेको सपना पूरा हँुदैछ । मेरो मास्टर्स सकिदै छ । सर्टिफिकेट पनि आउनेछ तर यो उपहार लिनका लागि उहाँ नै रहनुभएन । बाहिरतिर सबै कोही फोनबाट त कोही सँगै बसेर आजको दिनलाई विशेष बनाइरहेकाथिए। मेरो मनमा भने पीडाको पहाड र आखाभरि आँसुछ । मोबाइलको म्यासेन्जरमा ह्याप्पी फदर्स डे भन्दै आइरहेका म्यासेजहरूले मलाई दुखी बनाइरहेका थिए । यस्ता म्यासेज पठाउनेहरूले मलाई बल्ल खाइस् भन्दै जिस्क्याइरहे झैं लाग्यो । जसरी एउटा बालकले आफूसँग चकलेट हुँदा नहुने साथीलाई जिस्क्याउँदै दुईटै हातका चोर औंला दुईतिरको गालामा राखेर हेर म सँग कतिमीठो चकलेट छ तँसँग छैन भनेजस्तै गरी ।

मेरा लागिबाबुको मुख हेर्ने दिन पात्रोबाटै हटिदिए हुन्थ्यो जस्तो भइरह्यो । कलेज त छुट्टी नै थियो अफिसमा पनि सन्चो छैन भन्दै बिदा लिएर बसेँ । दिनभरि रोइरहेँ । मानौं म आज ड्याडीलाई सम्झेर रुन बसेकी हुँ । संसारमा मभन्दा अभागी कोही छैन सबैका त बुबाहरू छन् अनि मेरै किन हुनुहुन्न ? आज मलाई आठ छ कक्षामा वागमती गुरुङ म्याडमले सबैलाई तिमीहरूलाई सबैभन्दा बढी कसको माया लाग्छ भन्ने प्रश्नको याद आयो जसको जवाफमा सबैको जवाफ आमा-मम्मी हुँदा मेरो जवाफ ड्याडीथियो ।

मलाई म्याडमले मम्मीको किन लाग्दैन भनी सोध्नुभएको थियो । जवाफमा मैले मम्मीको पनि लाग्छ तर हजुरले सबैभन्दा धेरै कसको माया लाग्छ भन्नुभएकाले ड्याडी भनेँ, माया त मम्मीको पनि लाग्छ तर ड्याडीको धेरै लाग्छ भनी जवाफ दिएको अहिलेझैं लाग्यो ।महत्वपूर्ण र प्रिय चिज धेरै समयकालागि हुँदैन । ड्याडी पनि मेरा लागि अत्यन्तै प्रिय र महत्वपूर्ण हुनुहुन्थ्यो । त्यसैले त जीवनरूपी बाटोमा उहाँको यात्रा बीचमै कतै हरायो फेरि कहिल्यै नफर्किनेगरी, र हामी यतै कतै रुमलिरहेका छौँ ।

साँच्चै नै आफूले सबैभन्दा धेरै माया गर्ने र आफुलाईपनि सबैभन्दा धेरै माया गर्ने व्यक्ति गुमाउँदा असह्य पीडा हुँदा रहेछ । संसार एकदिन सबैलाई छोड्नु नै छ तर कालगतिले,बिरामी भएर वा कुनै दुर्घटनामा परेर जानुभन्दा पीडादायी हुँदो रहेछ अनाहकमै कसैले मारिदिनुको पीडा। संसारको सबैभन्दा प्रिय व्यक्ति गुमाएकी छु मैले । सबैका लागी ह्याप्पी बनेको फादर्स डे म मेरा भाइबहिनीको लागि स्याड डे बनेको छ । र अबदेखिको भदौ कृष्ण औंसी हाम्रा लागि साँच्चैं औंसीजस्तै कालो अँध्यारो हुनेछ ।

गत भदौ दश गते मेरो ड्याडीको हत्या भएको ६ महिना पुग्यो । तर आजसम्म उहाँको हत्या किन गरिएको थियो भन्ने कुरा सार्वजनिक हुन सकेको छैन । आरोपी हत्याको १ सय ४ दिनको दिन समातियो तर किन हत्या गर्‍यो भन्ने कुरामा हामी अझैं ओझेलमै छौँ । साच्चै कति पीडा हुँदो रहेछ परिवारको मान्छे गुमाइसकेपछि । लामो समय हत्यारा नै पत्ता नलाग्दा र सम्पूर्ण प्रमाणसहित हत्यारा समातिए पनि उसले कारण नखुलाइदिँदा । आशा छ सम्मानित अदालतले छिट्टै यो कुराको फैसला सुनाउनेछ र हाम्रो कठिन परिस्थितिमा केही सहजता प्रदान गरिदिनेछ ।

बुबा हुने कसैले पनि आफ्ना बुबालाई अपहेलना नगर्नुहोस् किनभभने आफूसँग भएको सस्तो हुन्छ । नहुँदा संसारै रित्तोरित्तो हुन्छ । बुबाबिनाको बुबाको मुख हेर्ने औंसी/ह्याप्पी फादर्स डे स्याड डे हुनेछ ।  अन्त्यमा, मेरो ड्याडीको हत्याको कारण छिटो पत्ता लागोस् अनि उहाँको बैकुण्ठ बास होस् !

विरेन्द्रनगरबीच बजारमै मडर, दुई महिनासम्म रहस्यमै (भिडियोमा)