आर्थिक पत्रकार समाजको अध्यक्षमा गौतम

काठमाडौं,

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति चयन भएको छ । सेजनको आज सम्पन्न २० औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित हुनुभएको छ ।

अधिवेशनको आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गर्नुभयो ।

गभर्नर नेपालले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका छायाँमा परेकाले थप सचेतता जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितालाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिनुभएको थियो ।
रासस