जहाँ पुल माथिबाटै बग्छ नदीको भेल

बाजुरा,

जब बुढीगंगा नदीमा पानीको बहाव बढ्छ, ताप्रिसेरामा झोलुंगे पुल डुब्छ । आवतजावत असहज हुन्छ । विकल्प नभएपछि त्यही जोखिमयुक्त पुलबाट ओहोरदोहोर गर्न स्थानीय बासिन्दा बाध्य छन् ।

ताप्रिसेराको पुलले त्रिवेणी नगरपालिकाको बागापाटा क्षेत्रलाई बुढीगंगा नगरपालिकासहित सडक सञ्जाललाई जोड्छ । बुढीगंगाकै अक्कोट क्षेत्रमा पारि त्रिवेणीको पैमाक्षेत्रबाट ठूलो पहिरो नदीमा खसेको छ । त्यही पहिरोकै कारण ताप्रिसेरा लगायतका क्षेत्रमा नदीको सतह बढेको छ । ‘माथिको पहिरोले सतह बढेर झोलुंगे पुल डुबेको हो,’ पैमा गाउँका भानुभक्त पाध्यायले भने, ‘नजिकमा अर्को पुल छैन ।’

त्रिवेणी क्षेत्रका किसान हरेक बिहान दूध, दही, तरकारी लिएर आउने गर्छन् । त्रिवेणी नगरपालिकाले पुल जोखिममा परेपछि त्यहाँबाट आवतजावत गर्न बन्देज लगाएको छ । तर स्थानीय बासिन्दा घुमाउरो बाटो हिँड्न कठिनाइ मानेर त्यहींबाट जोखिम मोल्ने गरेको नगर प्रमुख रामसिंह रावलले बताए । उनले भने, ‘बुढीगंगा नगरपालिकाको ताप्रिसेरा र त्रिवेणीको राँजामा पर्ने सो पुलभन्दा केहीमाथि बल्देमा अर्को झोलुंगे पुल छ । अर्को विकल्प नहुँदासम्म बल्देबाटै ओहोरदोहोर गर्न भनेका छौं ।’

नगरपालिकाले तत्काल अर्को पुल निर्माण गर्न नसक्ने भएकाले सहयोग एकाइ नेपालगन्जलाई पुलको अवस्था देखाएर सर्वेक्षण गराएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बताए । सहयोग एकाइले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको जनाएको उनले बताए ।
कान्तिपुरबाट