किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामीले के खाने !

किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामीले के खाने !

केन्द्रबिन्दु
42
Shares

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा थिए। त्यहीबेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो।

महिनौको मिहेनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले निकै चिन्तित छन्। ‘महिनौ मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन। आगोले क्षणभरमै सबै खरानी बनायो,‘ मगर भन्छन्, ‘घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेकोगहुँबालीपनि खरानी भएपछि अब के खानुर कसरी बाँच्नु!’

मगर परिवारले १२ कठ्ठा जमिनमा गहुँबाली उब्जाएको थियो। त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो। विगतका वर्षहरूभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवारले तुलनात्मकरूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो। उनी भन्छन्,‘यो वर्ष तीन/चार पटक सिँचाइ गर्यौँ। उन्नत जातको बीउ र पर्याप्त मलखादको प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँमात्रै होइन हाम्रो आशा पनि खरानी बनाइदियो।’

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो। यतिबेला कुमाललाई सात जनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैँसीलाई वर्षभरी कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।

‘गहुँ काटेर मुठा बाँधिसकेका थियौँ। आगोले पूरै जलेर राख भयो। अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन,’ उनी भन्छन्, ‘घरभित्रको अन्न पहिल्यै खाएर सकिसक्यो। अब खानलाई अन्न छैन, कसरी गुजारा गर्ने होला!’ कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहीँबाट आएको पैसाले घरखर्च चलाउने गरेको थियो।

‘विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरीलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो। यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन’, उनले दुःखेसो पोखे।

गत बिहीबार रुखको हागा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीयबासीको भनाइ छ। आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो।

पसिना चुहाउँदै महिनौ मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ सङ्कलन गरिरहेका छन्। तीन विघा जमिनको गहुँबाली जलेरपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर हुन्छ,‘बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौँ। अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकामा यो पटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ।’

आगलागीबाट जोगिएको एक विघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उनको भनाइ छ। लालबहादुरले बाख्रा, भैँसी र बङ्गुरपालन पनि गर्नुभएको छ। तीन विघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैँसी र बङ्गुर पालनमा पनि धक्का लागेको उनको गुनासो छ।

‘गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन। चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो। दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो’, लालबहादुरको बुझाइ छ।

Logo