‘यस्तो काम गर्न नपरोस्’

‘यस्तो काम गर्न नपरोस्’


पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोक र गल्ल्लीमा भेटिन्छिन् । 

काँधमा डाेको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्चिन् । उनको कथा भने नमीठो छ । उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उनको रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ । एक दशक पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गरेकी उनि बागलुङ पुगेकी छन् ।

पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आएकी उनले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेचिन् । बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेच्दै आएकी छन् । यहाँबाट पनि उनलाई काम गर्ने वातावरण सहज छैन । चालिस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताइन्।

उनले पोखरामा राम्रो कमाइ भएपनि काम गर्न नपाएको दुःखेसो पोखिन् । बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उनको भनाइ छ । यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उनले बताइन् । धनमायाको चार जनाको परिवार छ । दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ । दुई छोरीले पोखरा पढ्ने र श्रीमानले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनले बताइन् ।

नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्छिन् । यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ । फलफूल बेचेर दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँछिन् । धनमायाका श्रीमान् कुमार नेपालीले बागलुङ बजारको एक सिलाइकटाइ पसलमा काम गर्दै आएकी छन् ।

उनले आफूहरू दुई अनपढ भएको हुँदा भौतारिनुपरेको बताइन् । कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पनि गर्न तयार हुनुपर्ने बताए । दुई जनाको मेहेनतले परिवार चल्दै आएको उनको भनाइ छ । उनले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिइ सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोखे ।

उनले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाए । काम पाए आफूहरूले जस्तो ठाउँमा पनि गर्न सक्ने बताए । बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्ररूपमा राखिएका सामान हटाउन थालेको छ । यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन् ।
 

Logo