प्रदेश–३ सरकारले पर्यटन विकासमा ३ अर्ब खर्च गर्ने

हेटौंडा,

प्रदेश–३ सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन विकासको लागि झण्डै तीन अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । भ्रमण वर्ष–२०२० लाई लक्षित गरी प्रचारप्रसारको कार्यक्रमका साथ पर्यटन पूर्वाधार निर्माणमा पनि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ८७ करोड ९५ हजार रुपैयाँको योजना निर्माण गरी काम अघि बढाएको छ । बजेट बिनियोजन गरी अब कार्यान्वयन प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष पर्यटनको क्षेत्रमा छुट्याइएको झण्डै ६३ प्रतिशत बजेट फ्रिज भएपछि मन्त्रालयले यसवर्षदेखि चाँडै नै आयोजना कार्यान्वयनको काम थाल्न लागिएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिए ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि मात्र १ अर्ब १ करोड ५३ लाख ९५ हजार छुट्याएको छ भने स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमको लागि ५९ करोड ७५ लाख रुपैयाँ बिनियोजन गरेको छ । मन्त्रालयका योजना अधिकृत पाठकका अनुसार मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका एउटा एउटा पर्यटकीय गन्तव्य निर्माण गर्ने, प्राचीन गढीहरुको पुननिर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तैगरी रसुवा र सिन्धुपाल्चोकको सिमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माणको लागि ३ करोड, जुगल र गौरीशंकर हिमालको परिपथ निर्माणको लागि पचास लाख छुट्याएको छ । १० स्थानमा हिल स्टेशन अन्तर्गत भ्युटावर, बगैँचा, विश्रामघर तथा मनोरञ्जन घर निर्माणको लागि दश करोड रुपैयाँ विनियोजन गरेको छ । शैलुङ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि एक करोड पचास लाख, हेटौंडामा सिटी भ्यु टावर निर्माणको लागि दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणको लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

संघीय सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य अनुसार भिजिट नेपाल २०२० सञ्चालनमा ल्याएको छ । सोही उद्देश्य पूरा गर्न तीनै तहका सरकारले विभिन्न योजना बनाएर काम गरिरहेका छन् ।
कारोबारबाट