मनोचिकित्सकको लेख: आत्महत्या रोकथामका लागि के गर्ने ?
  • रामलाल श्रेष्ठ-

तपाईं नेपाल र भारतका शहरी क्षेत्रमा बस्नुहुन्छ भने सबैभन्दा पहिले हलहरुमा लागेको ‘छिछोरे‘ नामक हिन्दी सिनेमा हेर्न अनुरोध गर्दछु । विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा रिलिज भएको यो चलचित्र हेर्नुभयो भने मैंले लेख्न खोजेको यो लेख पढ्नै पर्दैन । दर्शक र समीक्षकबाट निकै राम्रो प्रतिक्रिया पाएको उक्त चलचित्रले त्यही कुरा फरक तरिकाले भन्नेछ, जुन यहाँ मैंले लेख्न खोजेको छु ।

मेरा एकजना बाल्यकालदेखिको साथीले एक महिनाअघि मसँगको भेटमा जीवनप्रति निराशा लागेको र आफू यस संसारमा बाँच्ने इच्छा पटक्कै नभएको भन्दै लाचार प्रकट गरे । एउटा मनोविज्ञका हिसाबले मैंले उनलाई उचित समयमा उचित तरिकाले जीवनका विषयमा बुझाउने छु भन्ने सोच्दै थिएँ । तर एक सातानबित्दै थाहा पाएँ, उनले विष सेवन गरी आत्महत्या गरेछन् । .

यो घटना ठिक त्यही दिन भएको थियो, जब सिन्धुपाल्चोक जिल्लामा एक जना तामाङ थरकी किशोरी र बाहिरी जिल्लाबाट त्यहाँ काम गर्न पुगेका एक किशोरले एउटै रुखको हाँगामा डोरीले पासो लगाई झुण्डिएका थिए । सञ्चारमाध्यममा आए अनुसार दुबैको प्रेम सम्बन्धलाई परिवारले स्वीकार गर्न नसकेपछि बढेको तनाब खेप्न नसकेर दुबैले मृत्युलाई सजिलो उपाय मानि दिए ।

गतवर्ष बुटवलस्थित सरकारी क्वाटरमा झुण्डीएको अवस्थामा प्रदेश सरकारका एक जना उप-सचिवको शव फेला पर्यो । उहाँको शव संगै सुसाइड नोट पनि फेला परेको थियो जसमा आफु विगत २७ वर्षदेखि मानसिक स्वास्थ्य समस्यामा रहेको र सोही पीडा सहन नसकेर आत्महत्या गरेको कुरा उल्लेख गरिएको थियो ।

ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर गरिएका एक जना सरकारी कर्मचारीले सपिङ्ग सेन्टरको झ्यालबाट हामफालेर आत्महत्या गरेको धेरै भएको छैन । एसएसई परीक्षामा ए प्लस नआएको भन्दै काठमाडौंकी एक किशोरीले आत्महत्या गरेको पनि समाचारलाई पनि हामीले बिर्सिएका छैनौं । बहुचर्चित सालिकरामप्रकरणले त झण्डै एक महिना देशलाई नै तरङ्गित गरे ।

यी त भए आत्महत्याका केही प्रतिनिधीमूलक घटनाहरु र आत्महत्याको बाटो किन रोज्द्छन् भन्ने दृष्टान्तहरु । तर समग्रमा व्यक्तिले आत्महत्या किन गर्दछन्, के कारणले आत्महत्या गर्ने सोचलाई अझ बढाउँदछ, आत्महत्याको रोकथाम किन सोचे अनुरुप सवै पक्षसँग सहकार्य गरेर गर्न सकिएको छैन र अव आत्महत्याको रोकथाममा घरपरिवार, साथीसँगी, विशेषज्ञ, सरकारी संयन्त्र सहित सवैको सहयोग लिएर कसरी योगदान पुर्याउन सकिन्छ, अब हामी सबैले सोच्नुपर्ने बेला आईसकेको छ ।

हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । र सधै झैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘आत्महत्या रोकथाममा सवैको सहकार्य‘भन्ने नाराका साथ नेपाललगायतविश्व भरी नै यो दिवस मनाउन लागिएको छ ।

यो नाराको विषयवस्तुलाई ह्रदयंगम गरी यो दिवस मनाउदै गर्दा नेपालमा आत्महत्याको दर किन बढिरहेको छ, किन मानिसहरुले आत्महत्यालाई मुत्यूवरण गर्ने माध्यमको रुपमा लिईरहेका छन्, यसको रोकथाम सोचे अनुसार किन गर्न सकिएको छैन साथै आत्महत्याको रोकथाममा घर परिवार, साथीभाई, समाज, सहयोगी संस्थाहरु, राज्यका संयन्त्रलाई कसरी परिचालनगर्ने भनेर बस्तुगत विष्लेशण गरी उपयुक्तखालको योजनाबनाई लागु गर्नुपर्ने देखिन्छ ।

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा असह्रय हुने गरी पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्द्छन् । विश्व स्वास्थ्य संघको पछिल्लो आकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरुले आत्महत्या गर्दछन् ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०६१-०६२ देखि २०७१-०७२ सम्म गरि १० वर्षको तथ्यांक हेर्दा २९,९०५ जनाले आत्महत्या गरेको पाईएको छ ।आत्महत्याको दर बढदै गएर आ.व. २०७३-०७४ मा ५१२४ र आ.व. २०७४-०७५ मा ५३४६ र २०७५-०७६मा ५७५४ जना व्यक्तिहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक भएको छ । जसअनुसार एक दिनमा लगभग १४ देखि १६ जना मानिसहरुले आफ्नो जीवन आफैले समाप्त पारिरहेका छन् ।

युवा तथा किशोरकिशोरी, सम्वन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्ति, तनावयुक्त बैवाहिक जीवन, घरवार विग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिलाहरु, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदीमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानी-नोक्सानीमा परेका व्यक्तिहरु, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका ब्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् । आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख हो । डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडाबाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि यस्ता बिरामीले आत्महत्या गर्छन् ।

डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरु बढ्छ । मानसिक असन्तुलन, मदिरापानको लत, लागुपदार्थको दुर्व्यसन, छारे रोग, दीर्घ खालको र धेरै पीडा हुने शारीरिक रोग र एचआइभी एड्सआदि जस्ता कारणहरुले पनि मानिसहरुमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयास समेत गर्ने सक्ने सम्भावना हुन्छ ।

मानसिक तथा शारीरिक पीडा एकदमै धेरै भयो भने र आफ्नो जीवनदेखि नै निराशपना उत्पन्न भयो भने व्यक्तिले आत्महत्याको बाटो रोज्द्छन र कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्न परिवारका सदस्यहरु तथा अन्य कसैले बाध्य बनाईरहेको हुन्छ ।आत्महत्या गर्ने विचार गरेकाहरुले आफ्नो विचार घुमाउरो पाराले परिवारजन तथा साथीभाइलाई भनेका हुन्छन् । जस्तै “यस्तो जिन्दगीको के सार, फेरि भेट हुन्छ कि हुँदैन” आदि । यदि व्यक्तिले धेरै निराश भएको कुरा गर्छन् र मर्न पाए हुन्थ्यो जस्ता इच्छा व्यक्त गर्दछन् भन्ने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भनी शङका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नु पर्दछ । उसलाई यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नु पर्दछ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ता कहाँ लैजानुपर्दछ ।

आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत केही पहल गरिए पनि देश भरका जनताहरुको लागि त्यो प्रयाप्त छैन । राज्यका संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायक, घर परिवारका सदस्यहरुबीच एक आपस समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचे अनुसार उपलब्धी हासिल गर्न सकेको छैन ।

मानसिक स्वास्थ्यको प्रवर्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारको लागि तालिमप्राप्त स्वास्थ्यकर्मीहरु, मनोविद्हरु तथा विशेषज्ञहरु मार्फत सेवाको पहुँच सवैकालागि सर्वसुलभ बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यकनीति र निर्देशिकाबनाएर प्रभावकारी कार्यान्वयनमाजोड दिनुपर्ने हुन्छ ।

सरकारका स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सवै खालकाप्राथमिकताकावर्ग तथाक्षेत्रहरुमामानसिक स्वास्थ्यलाई पनिएकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन जरुरी छ । स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनिआत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सकियो भने त्यस्ता संघसस्थाहरु मार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ ।

विशेष गरेर स्थानीय निकायहरुले खासगरी त्यस्ता संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यक्रम लैजान सक्यो भने आत्महत्याको सोचाई गरेका तथा प्रयास गरेका व्यक्तिहरुलाई जोगाउन सकिन्छ । डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाई राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्यागर्ने सोचाइआउने सम्भावना कम हुन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङगीहरुको भूमिका सवै भन्दामहत्वपूर्ण हुन्छ ।

आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यहार गर्ने, उनीहरुको मनको कुरा सुनीदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथीभाईहरुले सहयोग गर्नुपर्दछ ।

सम्पूर्ण सवै पक्षसँग समन्वय, सहयोगको लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आत्महत्याको रोकथाममा हामीले खाजेको जस्तै उपलब्धी हासिल गर्न सक्दछौ, जसकालागि यो दिवसले हामी सवैलाई आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमा पहिचान गर्न र आवश्यक सहयोगको पहल गर्न बल प्रदान गरोस् भन्ने सन्देश दिन चाहन्छु ।

(मनोचिकित्सक श्रेष्ठ विगत ३० वर्षदेखि मानसिक समस्यामा अनुसन्धानरत छन्)